संविधानको परिर्माजित विधेयक तथा त्यसमाथि परेका संशोधनहरुमाथिको निर्णायक मतदान प्रक्रिया संविधानसभामा मंगलबार तेस्रो दिन पनि जारी रह्यो।
आइतबार शुरु भएको प्रक्रिया सोमबार साँझ ७ बजेसम्ममा ५७ धारा पारित गरी स्थगित भएको थियो। मंगलबार बिहान १० बजेका लागि तय भएको बैठकमा धारा ५८ देखि अघि बढ्ने छ।
११ बजेदेखि संसदको बैठक तय भएकोले संविधानसभा बैठक ४५ मिनेट चलेपछि केहीसमय स्थगीत हुनेछ। त्यसपछि संसदको बैठकमा भूकम्पबाट प्रभावित संरचनाको पुर्ननिर्माण सम्बन्धी विधेयक २०७२ पेश हुनेछ। असार ८ गते जारी भएको अध्यादेश भदौ ११ भित्र प्रतिस्थापन विधेयक पारित गर्न नसक्दा विवादमा परेको थियो। पछिल्लो समय विपक्षी दल एमाओवादीसँग सहमति गरी सरकारले उक्त विधेयक पुन प्रस्तुतीका लागि तय गरेको हो।
यसअघि आइतबारको बैठकले धारा १, २ र ३ लाई पास गरेको थियो। संविधानको विधेयकमा ३०२ धारा र ९ अनुसूची छन्।