पर्साबाट निर्वाचित नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरी फेरि संविधान सभामा फर्किएका छन्। बरिष्ठ नेता शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि उनी संविधानसभाको प्रक्रियामा फर्किएका हुन्।
यसअघि आजै बिहान सेतोपाटीसँग कुरा गर्दै चौधरीले आफू हिजोदेखिनै संविधानसभा बहिष्कार गरेको भन्दै नफर्किएको बताएका थिए। यद्यपी सोही समयमा चौधरीसहित सात सभासद संविधानसभामा फर्किएको कांग्रेसका सभासद राम अयोध्या यादवले सेतोपाटीलाई जानकारी गराएका थिए।
‘अरूले भनेर होइन शेरबहादुर दाईले फोन गरेकाले बाध्य भएर फर्किए,’ चौधरीले भने,‘ मेरो बुबाको इतिहासको बारेमा पनि उहाँले बताउनु भयो। त्यसपछि फर्कनै पर्यो नि।’
नेपाली कांग्रेसबाट संविधानसभामा प्रतिनिधित्व गर्ने २०७ सभासद मध्ये २ जना मात्र अनुपस्थित छन्। प्रदिप गिरी दिल्लीमा भएकाले उपस्थित भएका छैनन् भने सीला खड्का हिन्दु राष्ट्र अभियानमा लागेकीले संविधान सभा बहिष्कार गरेकी छन्।
खड्का कांग्रेस नेता खुमबहादुरकी श्रीमती हुन्।