नेपाली काँग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले टिकापुर घटना मनावताविरुद्धको अपराध भन्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनले थारुहरुका घरमा आगो लगाउनेलाई पनि कारबाही गर्न माग गरे।
आइतबार संविधान सभाको बैठकमा बोल्दै उनले भने, 'मैले एकइन्च पनि दिन्न भनेँ भन्ने हलला चलाइयो। थारु-कमैया मुक्ति आन्दोलन गरेको व्यक्ति थारु विरोधी? सुर्खेतको राजधानी फिर्ता लाने कुरा पनि गलत हो।'
उनले थारुलाई सामाजिक, साँस्कृतिक अधिकार दिनुपर्ने धारणा राखे । कर्णालीदेखि गण्डकीसम्मको प्रदेशमा थारुको नाम नराखिए पनि उनीहरुकै अधिकारका लागि निर्माण भएको बताए।
संविधानको विधेयकमाथि भइरहेको छलफलमा बोल्दै नेता देउवाले संविधानमा लगानीकर्ताको र मजदूहरुको माग सम्बोधन गर्ने व्यवस्था गर्न सुझाए।
नागरिकताको प्रावधानबारे विवादको प्रसङ्मा उनले भने, 'समानता भन्ने अनि ज्वाइ र भान्जाले खान्छ भन्ने चिन्ता छ भने जसको छोरीमात्रै छ भने उसले घरज्वाइ राख्न नपाउने? विदेशीसँग विबाह गरेर पनि श्रीमानसँग कुरा मिलेन भने उसलाई नागरिकता दिनुपर्छ।'
नेता देउवाले मुस्लिम, दलित र जनजाति आयोगको बनाउन उचित हुने बताए।
रुकुम र बाग्लुङ टुक्याउनु गलत भएको भन्दै अब कुनै पनि बहानामा संविधान रोकेर राख्न नमिल्ने बताए।