नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि संविधानसभामा आजदेखि बहस र छलफल सुरु भएको छ।
यो क्रम कम्तीमा तीन दिनसम्म चल्ने भनिएपनि संविधान सभामा बोल्न चाहने सभासदको संख्या र समयले गर्दा लम्बिने देखिएको छ।
मस्यौदामाथिको छलफल बिहान ८ देखि बेलुका ७ बजेसम्म दैनिक ११ घन्टा चल्ने जानकारी संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दिएका छन्।
सभामुखले बोल्न चाहने शीर्ष नेतालाई २० मिनेटका दरले समय उपलब्ध गराएका छन्। यस्तै अन्यलाई १५ मिनेट तथा अन्य सभासदलाई ५ मिनेट बोल्ने समय छुट्टाएका छन्।
संविधानसभामा हाल प्रतिनिधित्व गरेका ५९८ सभासद् मध्ये बुधबार ७० जनाले बोलेका छन्। बोल्नका लागि ४५० जना सभासदले नाम टिपाएका छन्। अझै ३८० जना सभासदले बोल्ने छन्।
भोलि बिहीबार दोस्रो दर्जाका सभासदको बोल्ने पालो छ। उनीहरूलाई पनि २० मिनेटदेखि ८ मिनेटसम्म समय छुट्टाएको छ। यस्तै अन्य सभासदले भने ५ मिनेट समय पाउनेछन्।
यसरी दिनमा सरदर १०० जनाका दरले बोलेपनि कम्तिमा ४ दिन लाग्न सक्छ।
संविधानसभामा छलफल सकिएपछि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनेछन्। अनि विधेयक संशोधन प्रस्ताव दर्ता गरिनेछ।
प्रस्ताविन नयाँ संविधान लेखनको सन्दर्भमा यो छलफललाई संविधानसभाको अत्यन्त महत्वपूर्ण कार्य सूचीका रूपमा लिन सकिन्छ । यो नेपालको संविधान २०७२ को अन्तिम मस्यौदा हो ।
संविधान लेखन प्रक्रियाले लामो समयसम्म गति लिन नसकी रहेको अवस्थामा प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति संविधान लेखनलाई अघि बढाउन आधार तयार गरेको थियो ।
सोही सहमतिका आधारमा दलहरुले संविधानको मस्यौदा तयार गरेर जनताको राय सुझाव लिई मस्यौदामा सुधार र परिमार्जनको कामसमेत गरेका थिए ।
प्रमुख राजनीतिक दलका शीर्षनेताहरु सम्मिलित विशेष समिति र राजनीतिक संवाद समितिले तयार पारेको मस्यौदालाई संविधानसभाले स्वीकृति प्रदान गरेपछि संविधान मस्यौदा समितिले संविधानको अन्तिम मस्यौदा तयार गरेको हो ।
मस्यौदा समितिले तयार पारेको मस्यौदालाई संविधानसभाको पूर्ण बैठकमा छलफलका लागि यही भदौ ६ गते संविधानसभामा टेबल गरी सभासद्को अध्ययनका लागि तीन दिनको समय प्रदान गरिएको थियो । उक्त मस्यौदामा ३०२ धारा, ३७ भाग र ९ अनुसूची रहेका छन् ।