मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का सभासद जितेन्द्रनारायण देवले काँग्रेस एमालेले धोका दिएको बताएका छन्। १६ बुँदे सहमतिमा पहिचान र सामर्थ्यका आधारमा ८ प्रदेश बनाउने सहमति भए पनि अन्तिम समयमा ६ प्रदेशमा गएको भन्दै उनले आक्रोस पोखेका हुन्।
मंगलबार संविधान सभा बैठकमा बोल्दै सभासद देवले भने, 'थरुहट र मधेस जल्ने अवस्थामा छ। जनकपुर मन्दिरमा प्रसाद चढाएर त्यही खाएर मधेसलाई पुग्छ?'
तीन दलका नेताले फोरम लोकतान्त्रिकका अध्यक्षको विजयकुमार गच्छदारले राखेको प्रस्ताव अस्वीकार गरिरहेको उनको भनाई छ।
उनले भने, 'यदी जनताको भावना अनुसार तीन दलले अहिलेको नक्सालाई परिमार्जन गर्ने कार्य भएन भने हामी यसमा सहमत हुन सक्दैनौँ।'अहिलेको नक्सामा व्यापक फेरबदल गर्नुपर्ने उनको माग छ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संवधिानसभामा पेश गरेको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै थरुहट तराई पार्टी नेपालका सभासद गोपाल दहितले थरुहट प्रदेश सुनिश्चित नभएमा सदन छाडी सडक आन्दोलनमा जाने चेतावनी दिए।
पश्चिमका थारु ब्ााहुल्य क्षेत्र कैलाली, कञ्चनपुर लगायतलाई समेटेर छुट्टै थरुहट प्रदेश बनाउनु पर्ने उनको माग छ।
संविधान सभा बैठकमा बोल्दै उनले भने, 'केही नेताले आफ्नो गोजीको खेलौना जसरी जिल्लालाई यता र उता पार्ने अधिकार कस्ले दियो? कैलाली कन्चनपुरलाई थरुहटबाट हटाउने अधिकार कस्ले दियो? कैलालीमा आज आन्दोलन जारी छ।'
आमसञ्चारका माध्यमले थरुहटको आन्दोलनबारे समाचार सम्प्रेषण नगरेको भन्दै उनले आक्रोस समेत पोखे।