संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो अधिकार कटौती गरिएको भन्दै पहिलो चरणको आन्दोलनपछि दलित समुदायले दोस्रो चरणको आन्दोलन अन्तरगत आज वृहत् पद्यात्राको आयोजना गर्यो।
विभिन्न राजनीतिक दलनिकट भातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले आयोजना गरेको र्यालीको नेतृत्व दलित महिला नेतृ, सभासद् तथा अधिकारकर्मीले गरेका थिए ।
बबरमहलबाट सुरू भई बिजुलीबजार पुल हुँदै नयाँ वानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको सभालाई सम्वोधन गर्दै नेपाली काँग्रेसकी नेतृ तथा सभासद् सुजाता परियारले पहिलो चरणको आन्दोलनक्रममा दर्जनौँ दलित नेता तथा कार्यकर्ता घाइते हुँदासमेत सरकारले कुनै चासो नदेखाएको भन्दै आपत्ति जनाइन्।
सो झडपमा करिब २५ दलित नेता तथा कार्यकर्ता गम्भीर घाइते भएका थिए। दलित नेता तथा कार्यकर्ताले बिजुलीबजार झडपमा संलग्न प्रहरीलाई तत्काल कारवाही गरी, घाइतेलाई उपचार गर्नुपर्ने माग गर्दै आएका छन्।
एकीकृत नेकपा (माओवादी) नेत्री तथा सभासद् अनिता परियारले शदियौँदेखि उत्पीडनमा पारिएको दलित समुदायको बारेमा पहिलो संविधानसभाले प्राप्त गरेको उपलब्धीलाई गैरदलित सभासद्ले सुनियोजित ढङ्गबाट कटौती गरेको भन्दै भत्सर्ना गरिन्।
नेकपा (एमाले)का सभासद् टेकु नेपालीले आपूmहरूका अधिकार सुनिश्चित नगरी संविधान जारी गरेको खण्डमा संसद् अवरूद्ध गर्नेसम्मका कडाभन्दा कडा सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिने चेतावनी दिनुभयो ।
दलित समुदायको सवालमा पहिलो संविधानसभाले पारित गरेका विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत सङ्घर्षका कार्यक्रम सम्पन्न गरेका दलित समुदायले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप सङ्घमा तीन प्रतिशत, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्पर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे माग राख्दै आएको छ । दलित समुदायको तर्फबाट संविधानसभामा ४० जना सभासद्को सहभागिता रहेको छ । रासस