प्रदेशको संख्या र सीमांकनमा नयाँ सहमति कायम गरेर अघि बढ्ने प्रयासमा रहेका प्रमुख चार दलका शीर्ष नेताहरू बिहीबार टुंगोमा पुर्याउने भन्दै बुधबारको बैठकबाट बाहिरिएका छन्।
बुधबार बिहानै देखि छलफलमा ब्यस्त रहेका नेताहरू करिब-करिब सहमतिमा पुगेका छन्।
छलफलमा चारै दलका शीर्ष र दोस्रो तहका नेताहरु थिए। चार दलको शीर्ष संयन्त्रले टुंगो लगाएपछि सम्वाद समितिको बैठक बोलाएर त्यसलाई पारित गराउने र संविधान सभामा पेश गर्ने नेताहरूले बताएका छन्।
बुधबारको बैठकबाट बाहिरिदै एमाओवादी अध्यक्ष प्रचण्डले हिजोभन्दा आज सहमति नजिक पुगेको भन्दै भोलिसम्ममा सबै टुंगो लाग्ने बताए।
यस्तै बाबुराम भट्टराईले लगभग सहमतिमा पुगेको भन्दै आज समय अभाव भएर भोलि बिहान ९ बजे बैठक बसी दिउँसोसम्ममा टुंगोमा पुग्ने बताए। अनि पर्सीनै संविधानसभामा पेश गरिने बताए।
यस्तै मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भोलिसम्ममा सहमति पुग्ने र सीमाङ्कन सहितको संविधान आउने बताए।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि सम्ममा सबै टुंगोमा पुग्ने बताए। उनले कुनै पनि जिल्ला नटुक्रिने बताए।
प्रदेशको सिमांकनसमेत टुंग्याएर संविधान ल्याउन दलहरुको प्रयास मंगलबार बेलुकासम्म पनि निश्कर्षमा पुग्न नसकेपछि बिहीबार फेरि छलफललाई निरन्तरता दिने भएका हुन्।
जनताबाट आएका सुझावलाई मस्यौदामा समेट्ने भन्नेबारेमा एक सातादेखि नै चार दल हरेक दिन बिहानदेखि बेलुकासम्म छलफलमा जुटेका छन्।