संविधानको मस्यौदामा जनताबाट आएका सुझाव समेट्नका लागि सिंहदरबारमा शुक्रबार बिहान ७ बजेदेखि बसेको कार्यदलको बैठक सकिएको छ।
राति पौने ९ बजे सकिएको बैठकपछि बाहिरिदै एमालेका भीम रावलले जनताबाट पाएका सबै राय सुझावलाई अध्ययन गरेर सहमतिमै संविधान जारी हुने बताए।
‘हामीले जनताबाट पाएका सबै राय सुझावहरू सबै हेर्यौ। कोरिएको वा पहिले मस्यौदामा रहेको बाहेकलाई एउटा सूची बनाएका छौ। सहमति नभएका र गर्नुपर्ने विषयलाई एउटा प्रतिवेदन बनाएर विशेष समितिको बैठकमा पेश गर्छौ,’ उनले भने,‘ धर्म निरपेक्षताका विषयमा भने ब्याख्यात्मक टिप्पणीमा धार्मिक स्वतन्त्रता हो भन्ने राख्ने कुरा भएको छ। अनि वडा अध्यक्ष प्रत्यक्ष नै हुने विषयमा छलफल गर्नेछौ।’
शीर्ष नेताहरुको छलफललाई सहजीकरण गर्न र आवश्यक सुझाव दिन एमाले नेता भीम रावलको नेतृत्वमा कार्यदलको बैठक बसेको हो।
बैठकमा एमालेका भीम रावल र जितु गौतम, कांग्रेसका रमेश लेखक र भीष्म आङदम्बे, एमाओवोवादीका रेखा शर्मा, सानादलका तर्फबाट प्रेमबहादुर सिंह सहभागी थिए।
दलहरुको बैठक खासगरी धर्म निरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी, संघीयता र सीमांकन, स्थानीय निकाय, समावेशी व्यवस्था, नागरिकतालगायतका विषयमा बढी केन्द्रीत छ । धर्म निरपेक्षता हटाउन अधिकांश जनताबाट सुझाव आएकोले धार्मिक स्वतन्त्रता वा अन्य कुनै उपयुक्त वैकल्पिक शब्दावली राख्ने सहमति दलहरुबीच भइसकेको छ। तर त्यसको अन्तिम टुंगो लागिसकेको छैन।
बिहानदेखि नै कार्यदलको बैठकमा जनताका सुझावबारे छलफल गरेर परिमार्जनका आधार र बुँदा तयार गर्ने काम भएको हो। अब यसलाई राजनीतिक तहमा टुंगो लगाउनका लागि मुख्य दलका शीर्ष नेताहरुको बैठक बसिरहेका छ।
सिंहदरबारस्थित राज्यव्यवस्था समितिको सभाकक्षमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उप-सभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदार सहभागी छन्।
दलहरु सिमांकनमा पनि सहमति जुटे अन्तिम क्षणमा भए पनि यसलाई टुंग्याएर संविधान जारी गर्ने तयारीमा छ।
अब कार्यदलको बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ।