प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीसहित विपक्षी दलको बहिष्कार गरेको प्रश्नावली निर्माणका लागि गठन भएको प्रस्ताव निर्माण समितिको बैठकले कांग्रेस सभासद रमेश लेखकको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको छ।
निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बैठकले आइतबार एक बजे बस्ने समितिको पूर्ण बैठकमा कार्यविधि तयार पारेर पेस गर्ने जिम्मा उक्त उपसमितिलाई दिइएको हो।
सिंहदरबारमा २० मिनेट बसेको बैठकमा विपक्षी मोर्चा सहभागी थिएनन्। ७३ सदस्यीय समितिमा कांग्रेस–एमालेलगायत सत्तापक्षीय दलका ४९ जना मात्र सदस्य छन्।
कांग्रेस सभासद् रमेश लेखक संयोजकत्वमा किरण यादव, एमालेका भानुभक्त ढकाल र श्रीमाया थकाली, राप्रपाका दीपक बोहोरा, राप्रपा नेपालका दिलनाथ गिरी र स्वतन्त्र सभासद् अतर कमाल मुसलमान रहेको सात सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले एमाओवादी र मधेसवादी दललार्इ समितिमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ ।
'संविधानमा देखिएका विवादित विषयमा सहमति जुटाउने मुल थलो संविधानसभा र त्यसका समितिहरु हुन्', खड्काले भने, 'संविधानसभा र त्यसका समितिमै समाहित भएर संविधान निर्माणमा जुट्न एमाओवादी र मधेसवादीलार्इ आग्रह गर्ने निर्णय भएको छ ।'
७३ सदस्यीय समितिमा कांग्रेस–एमालेलगायत सत्तापक्षीय दलका ४९ जना मात्र सदस्य छन्। बाँकी २४ जनाको नाम विपक्षी दलले उपलब्ध गराउन अस्वीकार गरेपछि समितिले पूर्णता पाएको छैन।
गत ११ गते संविधानसभा अध्यक्ष सुवास नेम्वाङले विपक्षी दलको विरोधकाबीच प्रस्ताव निर्माण समिति आफैंले घोषणा गरेका थिए।
संविधानका अन्तर्वस्तुमा सहमति नभएका विषयलाई प्रश्नावली बनाएर संधिवानसभामा पेश गर्ने अधिकार पाएको समितिले काम थालेको पाँच दिनभित्र आफ्नो काम पूरा गर्नुपर्ने छ।