व्यवस्थापिका–संसद्को आजको बैठकमा 'स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक, २०७१' माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित हुन सकेन।
एकीकृत नेकपा (माओवादी)का रामनारायण बिंडारीले सदनमा गणपूरक सङ्ख्या नपुग्ने भएकाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत हुन नसक्ने भन्दै नियमापत्ति गरेका थिए।
सांसद बिंडारीको नियमापत्तिपछि सभामुखले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ५३ बमोजिम गणपूरक सङ्ख्या यकिन गर्न तीन मिनेट घन्टी बजाउन संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिए।
तीन मिनेटको अविध पूरा भएपछि सभामुखले प्रस्तुत विधेयक माथि मतदान गर्न व्यवस्थापिका–संसद्मा हाल कायम रहेका ५७५ सांसदमध्ये एक चौथाइ अर्र्थात् १५१ जना हुनुपर्ने प्रावधानअनुसार गणपूरक सङ्ख्या नपुगेको भन्दै सोमबारको कार्यसूचीका विषय हटाइएको घोषणा गरे। संसद्मा १३१ जना मात्र उपस्थित भएपछि उनले त्यस्तो घोषणा गरेका हुन्।
व्यवस्थापिका–संसद्को अर्को बैठक यही साउन १४ गत अपराह्न १ बजे बस्नेछ।