काठमाडौं महानगरपालिकाले स्वीकृतिविनै मर्मत थालिएका आवास तथा अपार्टमेन्टको काम तत्काल रोक्न निर्देशन दिएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
महानगरले पहिलो चरणमा ७१ आवास तथा अपार्टमेन्ट मर्मत कार्य रोकेको छ ।
घरधनीबाट नियुक्त इन्जिनियरको सिफारिसमा मर्मत गरिने जोखिमयुक्त घर प्राविधिक रूपमा कमजोर हुने भन्दै महानगरपालिकाले मर्मत कार्य रोक्न निर्देशन दिएको हो । मर्मत कार्य रोक्का गरिएकामध्ये अधिकांश निजी प्रयोजनका ठूला आवास छन् । अस्पताल, सपिङ मल, बैंकर अपार्टमेन्ट मर्मतसमेत रोक्का गरिएको छ ।
महानगरपालिकाका कार्यान्वयन विभाग प्रमुख धनपति सापकोटाले पहिलो चरणमा जोखिमयुक्त ७१ आवास तथा अपार्टमेन्टको मर्मत कार्य रोक्ने आदेश गरिएको बताए । ‘जोखिममा रहेका ७१ ठूला आवास तथा अपार्टमेन्टको मर्मत कार्य रोक्ने भनिएको छ,’ उनले भने, ‘यसमा अस्पताल, निजी निवास, सपिङ मलदेखि बैंकका भवनसमेत छन् । उनीहरूले प्राविधिकको सिफारिसविना नै हतारहतार मर्मत कार्य गरेको पाइयो । त्यसैले रोक्ने आदेश गरिएको हो ।’
महानगरपालिकाका अनुसार तिनकुनेस्थित न्यौपाने टावर, कालिकास्थानस्थित सिल्भर भ्याली डेभलपर्स, थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क, त्रिपुरेश्वरस्थित युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, थापाथलीस्थित ट्ेरड टावर नेपाल, बानेश्वरस्थित कृष्ण टावरको मर्मत कार्य रोकिएको छ ।
त्यस्तै, सिनामंगलस्थित केएमसी अस्पताल, कमलादीस्थित क्लब सांग्रिला प्रालि, काठमाडौं प्लाजाको कन्सेप्ट डेभलपर्स, बसपार्कको कान्तिपुर मल, कमलपोखरीको नेपाल लाइफ इन्सुरेन्स, बबरमहलको सिद्धार्थ इन्सुरेन्स, कालिकास्थानको काठमाडौं नेसनल मेडिकल कलेज, माइतीघरको अन्नपूर्ण न्युरो अस्पताल, बानेश्वरको इन्द्रेणी कम्प्लेक्स, बानेश्वरको मुक्ति टावरको मर्मत कार्य पनि रोकिएको छ ।