नेपाली सेनाले अहिले तालिममा रहेका एक हजार चार सय ४४ पूर्व माओवादी लडाकुको दर्जा निर्धारण गरेको छ । जसअनुसार उनीहरूले सिपाहीदेखि महासेनानीसम्मको दर्जा पाउने भएका आजका पत्रपत्रिकामा खबर छ ।
नागरकि दैनिक अगाडि लेख्छः गत फागुन ३० को मन्त्रिपरिषद निर्णयअनुसार सेनाले ७१ जनालाई अधिकृत, ५६ जनालाई पदिक र एकहजार तीन सय ३३ लाई अन्य दर्जामा समायोजन गर्ने व्यवस्था गरेको छ । ‘विभिन्न निर्णयले निर्दिष्ट गरेबमोजिम समायोजनमा सम्मिलित तालिमरत पूर्व माओवादी लडाकुको दर्जा निर्धारण गरिएको छ,’ दर्जा निर्धारण सम्बन्धमा आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता सहायक रथी सुरेश शर्माले भने, ‘अनमिनको प्रमाणित तह र प्रवेश मितिलाई आधार मानी समायोजनमा जाने हरेक पूर्व लडाकुको तहअनुसार ज्येष्ठताक्रम निर्धारण हुन्छ ।’
शर्माका अनुसार आधारभूत तालिम पूरा भएपछि उनीहरूलाई तीनमहिने ‘ब्रिजिङ कोर्स’ मा समावेश गरिनेछ । त्यसपछि अन्य दर्जाको हकमा सिपाहीदेखि सुबेदारसम्म र अधिकृतको हकमा उपसेनानीदेखि सेनानीसम्मको दर्जा प्रदान गरिनेछ ।
अधिकृतको हकमा सैनिक प्रतिष्ठान, खरिपाटीबाट पासआउट भएपछि सबैलाई आयुक्त पद प्रदान गरी उपसेनानी दर्जा दिने योजना सेनाको छ । दर्जा प्रदान गरेपछि सम्पूर्ण अधिकृतलाई तीनमहिने ब्रिजिङ कोर्समा समावेश गरिनेछ ।
पूर्व लडाकुलाई गत मंसिर १० बाट सेनाले तालिम दिन सुरु गरेको हो । अधिकृत तहकालाई ९ महिना र अन्यलाई ७ महिने तालिम निर्धारण गरिएको थियो । तालिम सकिएपछि सबैलाई ब्रिजिङ कोर्समा राखिनेछ ।
‘ब्रिजिङ कोर्सअन्तर्गत पहिलो चरणको ६ हप्ते तालिममा सबै अधिकृतलाई समावेश गरिनेछ,’ प्रवक्ता शर्माले भने, ‘६ हप्ता पूरा भएपछि २५ जना उपसेनानी दर्जाका अधिकृतलाई मात्र थप ६ हप्ताकोे पेसासम्बन्धी ज्ञान, सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकाबारे तालिम सञ्चालन गराइनेछ ।’
थप तालिममा नपर्ने ४६ जनालाई सम्बन्धित निर्देशनालयको जिम्मेवारी र भूमिकासम्बन्धी तालिम दिई ज्येष्ठताका आधारमा ३० जना सहसेनानी र १६ जना अधिकृतलाई सेनानी दर्जा प्रदान गरी युनिटहरूमा पठाइनेछ ।
‘१६ सेनानीमध्येबाट दुई जनालाई प्रमुख सेनानी र एक जनालाई महासेनानी दर्जा प्रदान गरिन्छ । तीनमहिने ब्रिजिङ कोर्स पूरा भएपछि र प्रमुख तथा महासेनानी दर्जा प्रदान गर्नुअघि उनीहरूलाई चार महिना गणपति तालिम दिइनेछ । त्यसपछि मात्र उनीहरूलाई प्रमुख सेनानी र महासेनानीमा पदोन्नति गरिनेछ,’ नेपाली सेनाको युद्धकार्य निर्देशनालयका निर्देशक हरिबहादुर बस्नेतले भने ।
अधिकृतबाहेक अन्य दर्जाको निमित्त पनि सेनाले पूर्व लडाकुको तह र ज्येष्ठताक्रम निर्धारण गरेको छ । दर्जा र ज्येष्ठताक्रम अनुसार पूर्व माओवादी लडाकुमध्ये सुबेदार १४, जमदार ४२, हुद्दा १ सय ७०, अमल्दार १ सय ९३, प्युठ १ सय ८० र सिपाही ७ सय ९० रहनेछन् ।