पूर्वमुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नबनाउन माग गर्दै परेको रिटमा आईतबार पनि बहस नसकिए पछि सोमबारलाई 'हेर्दाहेर्दै' भएको छ।
कार्कीलाई अख्तियार प्रमुख बनाउन चार राजनीतिक दलले सहमति गरेर मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई सिफारिस गरेपछि त्यसविरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दर्ता गरेका थिए। रिटको पहिलो सुनुवाईमै न्यायाधीश सुशिला कार्कीले अन्तरिम आदेशमार्फत् रोक लगाएपछि त्यसमा दुबै पक्षको सुनुवाई गत मंगलबारबाट सुरु भएको थियो।
सुनुवाई मंगलबार नसकिएपछि आज आईतबार निरन्तरता पाएको थियो। आईतबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरु श्रीहरि अर्याल, राजु चापागाईँ, गोविन्द बन्दी प्रकाश केसी बाबुराम दाहाल, चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए। रिट निवेदकका तर्फबाट वकालत नामा लेखाउने करिब ५० वकिल भए पनि न्यायाधीशहरु गिरीशचन्द्र लाल र तर्कराज भट्टले वकिलहरुको बहस दोहोरिएको बताएका थिए।
त्यसपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता द्रोणराज रेग्मी, नायब महान्यायाधिवक्ता पुष्पराज कोइराला, सह न्यायाधिवक्ता किरण पौडेल, उपन्यायाधिवक्ता धर्मराज पौडेलले बहस गरेका थिए।
रिटमा विपक्षी बनाइएका माओवादी अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अधिवक्ता रामनारायण विडारी र लोकमान सिंह कार्कीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशिल पन्तले बहस गरेका थिए।
कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, तुलसी भट्ट, हरि फुयाँल, रामनारायण बिडारी, मिथिलेश सिंह, कृष्ण सापकोटा, केशवप्रसाद भट्टराई, नरेन्द्र गौतम र पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले सोमबार बहस गर्नेछन्।