कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मानिस’मा उनले आफ्नी पत्नी मीरा आचार्यको शोकमा भगवानसँग आक्रोशित भएर लेखेको कविता सम्पादकद्वय रवीन्द्र समीर र अमर न्यौपानेले हटाइदिए । ‘मैले यो कविता राख्नुपर्छ भनेर कति जिद्दी गरेको थिएँ तर उहाँहरूले मान्नुभएन,’ ‘चिना हराएको मानिस’को सार्वजनिकीमा आइतबार हरिवंशले भने । उनको आत्मकथामा नछापिएको त्यही कविता हामीले यहाँ जस्ताको तस्तै प्रकाशन गरेका छौं ।
अर्को जन्ममा म देवता हुन्छु
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु
मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु
धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु
अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु
तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।
तस्बिर- हरिवंश आचार्यको आत्मकथा 'चिना हराएको मानिस' सार्वजनिक गर्ने क्रममा उनको स्केच दर्शकहरुलाई देखाउँदै कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन ।
तस्बिर- प्रकाश लामा