काठमाडौं, वैशाख १५ (सेतोपाटी)– हास्यव्यंग्यकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मानिस’ सार्वजनिक भएको छ । यसअघि थुप्रै प्रहसन, टेलिसिरियल, फिल्म र टेलिकार्यक्रम लेखिसकेका आचार्यको यो पहिलो किताब हो ।
पत्नी मीरा आचार्यको मृत्यु–शोकमा आचार्यको आँखाबाट खसेका आँसुका थोपा यो आत्मकथाको प्रेरणा हो । आचार्य आफैंले लेखेका हरफहरूलाई आख्यानकार रवीन्द्र समीर र अमर न्यौपानेले सम्पादन गरेका हुन् । कार्टुनिस्ट वात्स्यायनले आचार्यको स्केच सार्वजनिक गरेर उनको आत्मकथा सार्वजनिक गरेका थिए ।
फाइनप्रिन्टले प्रकाशन गरेको आत्मकथाको यो किताब ‘लिमिटेड एडिसन’मा हार्डकभरमा पनि उपलब्ध छ । आचार्यकै हस्ताक्षरमा छापिएको ‘लिमिटेड एडिसन’को मूल्य २ हजार रुपैयाँ छ ।
लिमिटेड एडिसनको बिक्रीबाट आएको ९० प्रतिशत रकम आचार्यले हालै स्थापना गरेको मीरा केयर सेन्टरलाई जानेछ । आचार्यले पत्नी मीराको सम्झनामा यो सेन्टर स्थापना गरेका छन् जसको अध्यक्षमा उनले आफ्नी दोस्री पत्नी रमिला पाठक आचार्यलाई राखेका छन् ।