नेपाल प्रहरीलाई भीड नियन्त्रणका लागि अति आवश्यक पर्ने टियर ग्याँससमेत अभाव भएको छ। पुराना सामानको म्याद सकिएको अवस्थामा समेत ठेकेदार कम्पनीले समयसम्म आपूर्ति नगर्दा प्रहरीलाई टियर ग्याँस अभाव भएको हो। दुई वर्षअघि नै टियर ग्याँस खरिद गर्न टेन्डर गरेको भए पनि ठेकेदारले समयमै उपलब्ध गराउन नसक्दा भण्डारमा रहेका टियर ग्याँसको म्याद सकिएको आजको राजधानीमा खबर छ ।
काठमाडौंको नेपाः इन्टरनेसनल र डाइनेस्टी इन्टरप्राइजेजमार्फत खरिद गर्न लागेको सो टियर ग्याँस दुई वर्ष बित्दा पनि अहिलेसम्म प्राप्त नभएको हो। ‘पटक/पटक ताकेता गर्दा पनि ठेकेदारले उपलब्ध गराउन नसकेपछि प्रहरीलाई टियर ग्याँसको अभाव भएको छ,’ प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ अधिकारीले भने।
लामो समयसम्म पनि उपलब्ध गराउन नसकेपछि प्रहरी मुख्यालय अर्को टेन्डर गर्ने मनस्थितिमा पुगेको छ। प्रहरी प्रधान कार्यालयको प्रबन्ध शाखाले तीन पटकभन्दा बढी सो कम्पनीलाई पत्र पठाउँदै टियर ग्याँस उपलब्ध गराउन ताकेता गरेको थियो। स्रोतका अनुसार एक साताअभि मात्रै प्रबन्ध शाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रतापसिंह थापाले नेपाः इन्टरनेसनल र डाइनेस्टी इन्टरप्राइजेजका प्रमुख उमेश श्रेष्ठलाई पत्र पठाई कालोसूचीमा राख्ने चेतावनी दिएका हुन् ।
तर, सो कम्पनीले पत्रबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको स्रोतले बतायो। ठेकेदार कम्पनीको सोही व्यवहारका कारण अर्को टेन्डर गर्ने पक्षमा प्रबन्ध शाखा पुगेको हो। सो कम्पनीले झन्डै २ करोड रुपैयाँबराबरको टियर ग्याँस खरिद गर्ने ठेक्का पाएको थियो। ‘सन् २०११ मै हामीले दुई वर्षपछिलाई आवश्यक पर्ने टियर ग्याँस खरिदका लागि टेन्डर आह्वान गरेका थियौं, त्यसमा ठेकेदार कम्पनीहरूको प्रतिस्पर्धामा डाइनेस्टीका उमेश श्रेष्ठले ठेक्का पारेका थिए तर उनले अहिलेसम्म सामान दिनै सकेनन्,’ प्रबन्ध शाखाका एक अधिकारी भन्छन्।