चीनका राष्ट्रपति सी जिनपिङले केरुङबाट काठमाडौं जोड्ने रेलमार्ग निर्माणका लागि ठोस प्रस्ताव ल्याउन नेपाललाई आग्रह गरेका छन्। चीनको महत्वाकांक्षी योजना 'वान बेल्ट वान रोड' (ओबिओआर) अन्तर्गत पर्ने सडक तथा रेल कनेक्टिभिटी (सञ्जाल) लाई सहयोग गर्ने चीनको घोषित नीति रहेको औंल्याउँदै उनले नेपालले रेलमार्ग निर्माणको प्रस्ताव गरे उचित हुने बताएका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति सीबीच सोमबार बेइजिङमा भएको भेटमा उक्त प्रस्ताव चिनियाँ राष्ट्रपतिबाट आएको हो। 'केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि सर्भे गर्ने प्रस्ताव नेपालले गर्दा उचित हुन्छ। ओबिओआर अन्तर्गत पर्ने सडक तथा रेल सञ्जाललाई सहयोग गर्न चीन तयार छ', दाहाल र सीबीचको भेटमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले राष्ट्रपति सीलाई उद्धृत गर्दै भने।
ओबिओआर चिनियाँ राष्ट्रपतिले विशेष चासोका साथ अघि बढाएको चिनियाँ महत्वाकांक्षी योजना हो। दाहालसँगको भेटवार्ता पनि चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई विशेष रूपमा उठाएका थिए। भेटमा राष्ट्रपति सीले भने, 'हामी ओबिओआरका सम्बन्धमा विभिन्न पक्ष राष्ट्रहरूसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरी छिट्टै ओबिओआर सम्मेलन गर्दैछौं। नेपालले पनि सम्मेलनअगावै एमओयुमा हस्ताक्षर गरिदियोस् भन्ने हाम्रो अपेक्षा छ।'
चिनियाँ राष्ट्रपतिले ओबिओआरलाई गम्भीरताका साथ उठाएपछि प्रधानमन्त्री दाहालले यसअघि यससम्बन्धी एउटा एमओयुमा नेपालले हस्ताक्षर गरिसकेको स्मरण गराउँदै विस्तृत एमओयुमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी गराएका थिए।
कनेक्टिभिटीका क्षेत्रमा सहयोग गर्न नेपालले आग्रह गरेपछि चिनियाँ राष्ट्रपति केरुङ–काठमाडौं रेल ओबिओआर योजनाअन्तर्गत पर्ने जनाउँदै निर्माणका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेका थिए।
'ओबिओआरसम्बन्धी विस्तृत समझदारीपत्रमा हस्ताक्षर गर्न हामीले तयारी गरिरहेका छौं। छिट्टै यो समझदारीपत्रमा नेपालले हस्ताक्षर गर्नेछ', प्रधानमन्त्री दाहालले सीसँगको भेटमा प्रतिबद्धता जनाएका थिए।
भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा ल्याउन चिनियाँ राष्ट्रपतिसँग आग्रह गरेका थिए। तातोपानी नाकाको ऐतिहासीक महत्व रहेको उनले स्मरण गराएका थिए। २०७२ वैशाख १२ गते गएको भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्याएपछि सो नाका सञ्चालनमा आउन सकेको छैन। नेपालले बारम्बार नाका खोल्न आग्रह गरे पनि चीनले 'संवेदनशील' भन्दै खोल्न आनाकानी गर्दै आएको छ।
'तातोपानी नाका खुलाउन म व्यक्तिगत रूपमा कोसिस गर्छु। यो नाका तिब्बतमा पर्ने हुँदा तपाईंले तिब्बत सरकार प्रमुखसँग पनि कुरा गर्नुहोला,' चिनियाँ राष्ट्रपति सीले भनेका थिए।