हरेक मानिसले आआफ्नै लक्ष्य राख्छन्-कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर। कोही पाइलट त, कोही खेलाडी। बक्सिङ खेलेरै राष्ट्रिय च्याम्पियन बनिसकेका नक्सालका २३ वर्षीय सुशील थापाको भने एउटै लक्ष्य छ-नेपाली नागरिक भएको आधिकारिक प्रमाणपत्र पाउने। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
सुशीलका आमाबाबु सानैमा काठमाडौं पसेका थिए। बाल्यकालमै गाउँ छाडेका शिव थापा नक्सालको एक मोटर ग्यारेजमा काम गर्न थाले। आफू कुन ठाउँबाट राजधानी छिरेको हो, त्यो पनि उनलाई हेक्का भएन। राजधानीको ठूलो भीडमा उनी भने सहाराविहीन थिए। त्यस्तै अन्योल थियो, सुशीलकी आमा शान्तिको पनि। उनलाई सानै उमेरमा काकाले डोर्याउँदै काठमाडौं ल्याएका थिए। नक्सालको एउटा घरमा काम गर्न राखेर हिँडेका उनका काका कहिल्यै फर्केर आएनन्।
समयले कोल्टे फेर्दै गयो। सानैमा काठमाडौं छिरेका शिव र शान्ति जवान भए। नक्सालमै ओहोरदोहोर गर्दागर्दै आँखा जुध्यो। मनको बह साटासाट भयो अनि बिरानो सहरमा एकअर्काको सहारा बनेर जीवन बिताउने निधो गरे। उनीहरूले नक्सालमै कोठा लिएर गुजारा चलाउन थाले। शान्तिले घरव्यवहार समालेपछि शिवले ग्यारेजमै दिन बिताउन थाले। उनीहरूले न बिहे दर्ता गरे, न त नागरिकता नै बनाए। त्यसको आवश्यकता उनीहरूलाई कहिल्यै परेन।
यस्तैमा २०५१ सालमा जेठो सन्तानका रूपमा सुशीलको जन्म भयो। समय बित्दै गयो। सुशील नक्सालको नन्दी माविमा पढ्न थाले। त्यहीं पढ्दै गर्दा उनका बुबाले काम गर्ने वर्कसपका साहूले एसएलसी पास गरेपछि नागरिकता बनाइदिने आश्वासन दिए। उनकै सल्लाहमा एसएलसीको फाराम भर्दा सुशीलले कीर्तिपुरको ठेगाना राखे। कडा मेहनत गरेर एसएलसी पास गरे तर साहूले नागरिकता बनाइदिने आफ्नो वाचा पूरा गरेनन््। त्यसपछि उनी आफैंले धेरैपटक प्रयास गरे। धेरैसँग हारगुहार गरे। बुबाआमाकै नागरिकता नभएपछि उनले पनि नागरिकता पाउन सकेनन्।
यस्तैमा उनलाई साथीले राष्ट्रिय खेलाडी भएपछि नागरिकता पाउने आस देखाए। त्यही आसमा उनी बक्सिङको रिङमा छिरे। नक्साल बक्सिङ सेन्टरबाट 'बक' हान्न सिकेका उनले चर्चित खेलाडी बन्ने लक्ष्य लिएर दिनरात मेहनत गरे। 'मैले आफ्नो लक्ष्य नै नागरिकतालाई बनाएँ। त्यही लक्ष्य लिएर हरेक प्रतियोगितामा रिङमा ओर्लन्थें', गत पुसमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्णपदक जितेका सुशीलले अन्नपूर्णसँगको कुराकानीमा भने।
२०७१ सालमा बुबाको निधन भएपछि भने आफूले नागरिकता पाउने आस गुमाएको सुशील बताउँछन्। 'बुबा छउन्जेल नागरिकता पाउँछु भन्ने आस थियो तर उहाँ बितेपछि आस मरेको छ', उनी भन्छन्। उनका एक भाइ पनि छन्। अहिले नौ कक्षामा पढ्दै गरेका भाइले पनि नागरिकता नपाउलान् भन्ने चिन्ता उनलाई छ। 'मैले त लक्ष्य नै नागरिकता बनाएको छु। जीवनभर यही लक्ष्यमै हुनेछु तर भाइले चाहिँ मैलेजस्तो समस्या नबेहोरोस् भन्ने हो', उनी भन्छन्, 'राष्ट्रको वास्तविक नागरिक बन्ने चाहनाले बक्सिङको रिङमा छिरें। कडा परि श्रमपछि राष्ट्रिय च्याम्पियन पनि बनें। खेलकुद क्षेत्रमा लागेपछि राष्ट्रले सम्मान त दियो तर सक्दो प्रयास गर्दा पनि पहिचान पाउन सकिनँ।'
सातौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टोलीबाट स्वर्णपदक जित्नुअघि पनि उनी धेरै प्रतियोगितामा भिडे। विभागीय टोलीको दबदबा रहेको अवस्थामा उनले धेरैपटक हार बेहोरे। नहारी जित्न सकिन्न भन्ने बुझेका उनले हारलाई नै जितको मन्त्र बनाए। गत भदौमा सातदोबाटोमा आयोजना भएको खुला राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेपछि भने उनले पछि फर्कनुपरेको छैन। सातौं राष्ट्रिय खेलकुदमा नेपाली सेनाका सुवास विकलाई हराउँदै उनले स्वर्णपदक जितेका थिए।
सन् २०१९ मा नेपालमै आयोजना हुने भनिएको १३ औं साग र अर्को वर्ष हुने एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पदक जित्ने सम्भावना भएका विभिन्न खेलको राष्ट्रिय टोली निर्माण गरी प्रशिक्षण दिँदै आएको छ। ४९ केजी तौलसमूहका राष्ट्रिय च्याम्पियन सुशीलले पनि त्यहाँ नियमित प्रशिक्षण लिइरहेका छन्। तर नागरिकता नहुँदा विदेशमा हुने प्रतियोगितामा सहभागी हुन पाउँदिनँ कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ। 'नागरिकता नभई पासपोर्ट बन्दैन। पासपोर्ट नै नभएपछि विदेशमा कसरी सहभागी हुन पाउनु', नागरिकताका लागि धाउँदाधाउँदै निराश बनेका सुशील प्रश्न गर्छन्।