पछिल्लो समयमा माओवादीको दसबर्से 'जनयुद्ध' को उद्गमस्थल भनेर चिनिने थबाङसँग लामो इतिहास छ । थबाङ सधैं राज्यको 'कडा' प्रतिपक्षमा बसिरह्यो । सत्तासँग सधैं 'टक्कर' लिने थबाङले माओवादी जनयुद्धमा 'हेडक्वार्टर' को इतिहास बनायो । २०११ सालदेखि नै थबाङ 'कम्युनिस्ट' को गढ मानिन्थ्यो । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
सशस्त्र युद्ध बिसाएर माओवादी शन्तिप्रक्रियामा आइसकेपछि थबाङ फेरि रिसायो । असन्तुष्ट थबाङलाई फकाउन २०६४ सालको संविधानसभाका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफैं त्यही क्षेत्रबाट चुनाव लडे । उनले त्यो बेला चुनाव जिते । तर २०७० सालको संविधानसभाको निर्वाचन थबाङले बहिष्कार गर्यो । त्यो बेला माओवादी फुटिसकेको थियो । सारा थबाङवासी मोहन वैद्यले अगुवाइ गरेको पार्टीमा थिए ।
वैद्यबाट विप्लव फेरि बाहिर निस्किए । सारा थबाङवासी विप्लवका समर्थक भए । एक महिनाअघि विप्लव नेतृत्वको माओवादीको पार्टी महाधिवेशनको बन्दसत्र थबाङमै भएको थियो । त्यसका लागि सारा थबाङीहरू मिलेर गाउँमा एउटा ठूलो सभाहल बनाए ।महाधिवेशनले 'चुनाव' बहिष्कार नीति पारित गरेको छ ।
तर यसपालि भने थबाङवासी चुनाव चाहन्छन् । अघिल्लोपटक चुनाव बहिष्कार गर्दा थबाङवासी आफूहरू 'ठगिएको' महसुस गर्छन् । विप्लव समर्थक माओवादी अगुवा रेशम शाह (घर्ती) भन्छन्, 'अब हामीलाई पनि यहाँको विकासका लागि नेता चाहिन्छ । पार्टीको नीति र बहिष्कार गर्ने नै हो तर हामीले आफूअनुकूल चुनाव उपयोग गर्छौं ।'यसका लागि थबाङवासीले पार्टीसँग पनि अनुमति मागेका छन् ।
थबाङवासी वैशाख ३१ का लागि तय गरिएको स्थानीय तहको चुनावलाई आफूअनुकूल उपयोग गर्ने पक्षमा छन् । त्यहीअनुसार उनीहरूले 'उम्मेदवार' पनि खोजिरहेका छन् । 'हामी सधैं राज्यको विपक्षी भएर बस्यौं । अघिल्लो चुनावमा भोट पनि हालेनौं तर अहिले सारा विकासे कामका लागि नेताहरूकै दैलोमा कुद्नुपर्दा आफैंलाई अप्ठ्यारो लाग्छ', शाह भन्छन्, 'त्यै भएर अब यसपालिको चुनाव हामीले उपयोग गर्नुपर्छ कि भन्ने लागेको छ ।'
खासमा पुष्पकमल दाहालले 'बाटो बिराएको' भन्दै रिसाएका थबाङवासी अझै 'क्रान्ति' चाहिएको ठान्छन् । २०२९ सालमा कम्युनिस्ट पार्टीको औपचारिक सदस्यता लिएका खड्गबहादुर बुढा भन्छन्, 'जनता र कार्यकर्ताको जुन लक्ष्य र बलिदान थियो त्यो पूरा भएन । हामी अझै क्रान्ति जारी छ भन्छौं तर दाहालले बाटो बिराए ।' यही कारण सारा थबाङवासी अहिले विप्लवको नेतृत्वमा छन् ।
सामूहिकतामा विश्वास राख्ने थबाङवासी सधैं गाउँका अगुवा नेताकै भरमा हुन्छन् । गाउँका अगुवा नेताको अनुमतिबिना सितिमिति उनीहरू आफ्नो कुरा खोल्दैनन् । उनीहरूले जुन पार्टीलाई समर्थन गर्न सल्लाह दियो त्यही मान्छन् ।
सरकार, सत्ता र पार्टीको नीतिलाई समेत आफूअनुकूल उपयोग गर्दै आएका थबाङवासी यो स्थानीय तहको निर्वाचनलाई पनि त्यसैगरी उपयोग गर्ने सोचाइमा छन् । 'चुनाव बहिष्कार गर्ने पार्टीको नीति हो । पार्टीले त चुनाव बहिष्कार गर्छ नै तर अहिले चाहिएको त गाउँकै नेता हो । त्यसैले हामीले हाम्रो विकास रोक्नु हुन्न', बुढा भन्छन्, 'स्थानीय चुनावमा हाम्रो, थबाङीको पकड हुनुपर्छ र यो निर्वाचनलाई हाम्रो पक्षमा पार्नुपर्छ भन्ने लागेको छ ।'
२०३६ सालमा भएको जनमतसंग्रहमा पनि थबाङवासीले बहुदलका पक्षमा मत खसालेका थिए । 'हामी के गर्दा हाम्रो गाउँ र जनतालाई राम्रो हुन्छ त्यहीअनुसार बहिष्कार र उपयोग गर्छौं', उनी भन्छन्, 'पार्टीको नीति एउटा भए पनि हामीले चुनावलाई आफ्नो अनुकूल उपयोग गर्ने हो ।'
थबाङ गाउँपालिकाको केन्द्र पनि हो । 'हामी विकासविरोधी होइनौं तर थबाङलाई सधैं राज्यको विद्रोही भनियो, हामीलाई सधैं हेला गरियो', रेशम भन्छन्, 'त्यसैले हामी खासखास समयमा आफ्नो निर्णय गर्छ । स्थानीय जनता पनि यसपालिको चुनावबाट गाउँको नेता छान्न चाहन्छन् ।'
आफूहरूले समर्थन गरेको पार्टीले नै चुनाव बहिष्कारको नीति पारित गरेपछि पार्टीका तर्फबाट उम्मेदवार भने हुने छैनन् । उनीहरूले कसैलाई समर्थन गरेर उम्मेदवार बनाउने पनि छैनन् ।'तर हामी सबै गाउँलेहरू सल्लाह गरेर कसलाई भोट हाल्ने भन्ने निर्णय गर्छौं', स्थानीय विष्णुज्योति घर्ती भन्छिन्, 'गाउँका हाम्रा नेताले पनि त्यस्तै भन्छन् । गाउँको विकास गर्ने नेता त चाहियो नि ।'