प्रकाश पहिलेदेखि नै उग्र स्वभाव भएका व्यक्ति हुन्। जसका कारण उनी परिवारमा पनि बस्दैन थिए। ‘केही गरोस्’ भनेर परिवारले उनका लागि वसन्तपुरनजिकै मोबाइलपसल खोलिदिएका थिए। राधिका पनि नजिकैको कपडापसलमा काम गर्दै आएकी थिइन्। हिँड्ने बाटो पर्ने भएकाले एक दिन राधिका आफ्नो मोबाइल बनाउन सोही पसलमा पुगेकी थिइन्। त्यही बिग्रिएको मोबाइलले दुईजनाको प्रेम–सम्बन्ध जोडियो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
दुवैजना महत्वाकांक्षी थिए। टन्न पैसा कमाएर बिहे गर्ने प्रलोभन प्रकाशले उनलाई दिँदै आएका थिए। राधिकाले काम गर्ने पसलका मालिकसँग प्रशस्त पैसा भएको प्रकाशलाई थाहा थियो। उनीबाट पैसा झार्न प्रेमिकालाई नै प्रयोग गरी अपहरण गर्ने योजना प्रकाशले बनाए। राधिका पनि त्यसमा सहमत भइन्। प्रहरीका अनुसार माघको पहिलो साता उनीहरूले योजना बनाएका हुन्। योजनामा सहयोग गर्न प्रकाशले बागेश्वरीका तीन–चारजना साथीलाई प्रस्ताव गरेका थिए। ‘एकजना व्यापारी लुट्नुपर्छ र घुम्न जानुपर्छ’ भन्दै प्रस्ताव राखेका थिए। तर, उनीहरूले अस्वीकार गरे। लागुऔषधसमेत सेवन गर्ने किशोर गिरी भने त्यसका लागि तयार भए। सोहीअनुसार उनीहरूले योजना अघि बढाए।
गत ४ फागुनमा राधिकाले सुन्धाराको होटेल होलिल्यान्ड बुक गरिन्। उनीहरूलाई दुईवटा कोठा चाहिएको थियो। अर्काे कोठा लिन होटेलले परिचयपत्र खोजेपछि उनीहरू सनराइज गेस्टहाउसमा बसेका हुन्। सो गेस्टहाउसले परिचयपत्रविनै कोठा बुक गरेको थियो। योजनाअनुसार नै युवतीले भेट्न बोलाएर अग्रवाललाई होटेलमा पु¥याएको प्रहरीले जनाएको छ।