सप्तरीको रूपनीमा एउटा आकर्षक भवन छ, जसमा साइन बोर्ड छ– पूर्व क्षेत्रीय प्रहरी अस्पताल ठाकोदेवी–जोगेन्द्र भगत। अस्पतालको कस्तो अनौठो नाम, धेरैले जिज्ञासा राख्छन्। तर, यो अस्पताल बन्नुमा जे छ यही नाममा छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
ठाकोदेवी–जोगेन्द्र भगत राजविराजको दानवीर दम्पती हो, जसले घरजग्गा दिएर गत माघबाट यो अस्पताल सञ्चालनमा आएको हो। भगत दम्पतीले २ बिघा ५ कट्ठा जग्गामा चुपचाप २० कोठाको चारतल्ले भवन ठड्याए। सुपरमार्केट बनाउने हुन् कि भन्ने धेरैले ठानिरहेका थिए। अचानक उनीहरूले घोषणा गरे– यो सबै प्रहरी अस्पतालका लागि दान भयो।
चारतल्ले उक्त भवनका साथै ५० प्रहरी प्रतिब्यारेक अटाउन सक्ने तीनवटा निर्माणाधीन ब्यारेक भवन र चिकित्सक आवासका लागि जगसम्म हालेर थपिदिए। अस्पताल सञ्चालनका लागि भरथेग होस् भनी बीउपुँजीका रूपमा २ लाख ५१ हजार रुपैयाँसमेत हस्तान्तरण गरे।
‘अहिलेको समाजमा दान दिएर समाजसेवा गर्नेभन्दा समाजबाट उल्टै फाइदा लिने बढी छन्, यो अवस्थामा भगत दम्पतीको दानदातव्य उदाहरणीय छ,’ गत साउनमा प्रहरीलाई दिएको दान ग्रहण गर्न सप्तरी आएका बेला तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भनेका थिए, ‘उहाँहरूको दानको मूल्यांकन रकममा हुन सक्दैन।’
उमेरले ७१ वसन्त पार गरेका जोगेन्द्र र उनकी जीवनसंगिनी ठाकोदेवीले हालसम्म गरेको दान खासगरी अस्पताल र विद्यालय निर्माणका क्षेत्रमा बढी छ। क्षेत्रीय प्रहरी अस्पतालका लागि दिएको घरजग्गाको मूल्य ३५ करोड रुपैयाँभन्दा बढी पर्छ। अस्पतालमा एक चिकित्सक र १६ स्वास्थ्यकर्मी कार्यरत छन्। यसमा आकस्मिक र बहिरंग सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख प्रहरी निरीक्षक डा. किरण मगरले बताए।
‘मधेस आन्दोलनका कारण प्रहरी र स्थानीयवासीबीच तनाव रहेका बेला भगत दम्पतीले दिएको दानले सर्वसाधारण समेतले सेवा पाउने एउटा अस्पताल मात्र बनेन, प्रहरी र नागरिक सम्बन्ध सुधारका पक्षमा पनि कोसेढुंगा नै सावित भयो,’ तत्कालीन अवस्थामा सप्तरी प्रहरी प्रमुख रहेका एसपी भीमप्रसाद ढकालले सम्झिए। यसअघि भगत दम्पतीले सशस्त्र प्रहरीलाई पनि विद्यालय सञ्चालनका लागि करोडौं रुपैयाँ पर्ने जग्गा दानमा दिएका छन्। सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय पकलीका निवर्तमान प्रमुख डीआईजी सुरज श्रेष्ठका अनुसार उनीहरूले सप्तरी शम्भुनाथमा साढे ८ बिघा जग्गा दान दिएका छन्। उक्त जग्गाको हालको मूल्य पनि ३५ करोड रुपैयाँ हाराहारी पर्छ। ‘सशस्त्र प्रहरीले त्यहाँ विद्यालय निर्माण सुरु गर्नेबित्तिकै थप अढाइ बिघा जग्गा दानमा दिने प्रतिबद्धता गरिसकेको छु,’ दाता जोगेन्द्र भगतले भने। उक्त स्थानमा निर्माण हुने विद्यालयको नाममा समेत ठाकोदेवी–जोगेन्द्र भगत जोडिने सहमति भएको छ।
सुरक्षाकर्मीलाई अस्पताल र विद्यालय बनाउन मात्र होइन, भगत दम्पतीले जनताका विद्यालय र अस्पताल निर्माणमा पनि निकै दान दिएका छन्। राजविराजस्थित राजदेवी माध्यमिक विद्यालयको नाम परिवर्तन भएर २०५३ सालमा राजदेवी–जोगेन्द्र भगत–ठाकोदेवी विद्यालय भयो। उक्त विद्यालयको नाममा भगत दम्पती जोडिनुका पछाडि कारण थियो विद्यालयको भौतिक पूर्वाधार निर्माणमा उनले गरेको दान। २०४४ सालमै उनीहरूले उक्त विद्यालयमा ४० लाख रुपैयाँभन्दा बढी लगानी गरेर आठवटा पक्की भवन र चारवटा ब्लक बनाई हस्तान्तरण गरे।