राजनीतिक गतिरोध वा ठूला घटना हुँदा नेपालमा बाह्य कूटनीतिज्ञ सक्रिय भइहाल्छन् । आन्तरिक मामिलामा चासोमात्र होइन, हस्तक्षेप नै सुरु हुन्छ । अहिले अख्तियार प्रकरणमा पनि भारतीय कूटनीतिज्ञको त्यस्तै अनधिकृत चलखेल भएको खबर छरपस्ट आएका छन् । तापनि त्यस्ता गतिविधिप्रति सरकार र जिम्मेवार अधिकारीहरूले चाहेर पनि प्रश्न गर्ने आँट गर्दैनन्, किन ?
कारण हो– कूटनीतिक आचारसंहिता कार्यान्वयन गर्न नसक्नु । कूटनीतिक भेटघाट व्यवस्थित गर्न सरकारले २०६८ सालमा आचारसंहिता जारी गरेको थियो । तर, त्यसलाई न विदेशी कूटनीतिज्ञहरूले पालना गरे, न नेपाली राजनीतिकर्मी र अधिकारीले नै । फलतस् विदेशी कूटनीतिज्ञले मर्यादा नाघेका विषय सार्वजनिक हुँदा परराष्ट्र मन्त्रालयका अधिकारीहरू नियमन गर्न उल्टै डराउँछन् ।
‘परराष्ट्रलाई निरीह बनाउँदा कूटनीतिक आचारसंहिता लागू हुन नसकेको हो । यसलाई लत्याएर जथाभावी भेट्नु मन्त्रालयको निरीहता हो,’ एकजना पूर्वशिष्टाचार महापालले भने, ‘कूटनीतिलाई कमजोर बनाउने काम सबैतिरबाट भएको छ । संसारमा कहीं नभएको अभ्यास हाम्रो देशमा हुन्छ, यो दुःखद हो ।’
पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्तापछि उनलाई बचाउने नाममा यस्ता गतिविधि बढेको पाइएको छ ।
यस्ता कूटनीतिक आचार र मर्यादा उल्लंघनलाई लिएर राजनीतिक दलहरूभित्र समेत आवाज उठ्न थालेको छ । आचारसंहिताको ४.१ मा भनिएको छ, ‘नेपाल सरकारका मन्त्री वा संवैधानिक निकायका पदाधिकारी वा अन्य उच्च पदाधिकारीले विदेशी सरकारका मन्त्री, राजदूत वा उच्च सरकारी अधिकारीसँग भेटघाट गर्दा परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका प्रतिनिधिलाई आमन्त्रण गर्नुपर्नेछ ।’ यसले अपारदर्शी भेटघाटलाई निरुत्साहित गरेको छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
राजदूतसँग वार्ता गरेपछि मन्त्री वा त्यसभन्दा माथिका व्यक्तिले नै भेटवार्ता भयो भन्दै समाचार टिपाउन बानी परेकाले पद्धति नबसेको परराष्ट्र अधिकारीहरूको ठम्याइ छ । ‘विदेशीहरू नेताका घरघरै गएर भेटघाट गर्ने र धारणा बुझ्ने गर्छन् । हेप्न सक्ने नेताहरूलाई दूतावासमै बोलाएर सोधीखोजी गर्छन् । नेताहरू पनि छात्रवृत्तिदेखि विदेश भ्रमणमोहका कारण उनीहरूले जे भन्छन्, स्वीकार्न तयार हुन्छन् । कतिले त आफ्नो राजनीतिक करिअरै तिनै कूटनीतिज्ञको हातमा सुम्पेका हुन्छन्,’ परराष्ट्रका एक अधिकारीले भने, ‘अनि हामीले के गर्न सक्छौं रु’ परराष्ट्रकै अधिकारी पनि यसमा चोखा छैनन् । उनीहरू पनि आफ्नो स्वार्थका लागि कूटनीतिज्ञहरूलाई उपयोग गरिरहेका हुन्छन् । पूर्वपरराष्ट्रमन्त्री विदेश जाँदा बिदाइ गर्ने र विदेशमा व्यवस्थापन मिलाउनेसम्मको काममा लाग्ने कर्मचारीले शक्ति मुलुकका राजदूतको ‘चाकडी’ गरेका हुन्छन् ।