हतियार हराएको घटनामा सेनाको आन्तरिक अनुसन्धानका क्रममा दिइएको दबाब सहन नसकेर सैनिक हवल्दार दीपकबहादुर खड्काले आत्महत्या गरेको आशंका गरिएको छ। खड्काको 'सुसाइड नोट' मा 'पृतनाभित्र भइरहेको कुटपिट सहन नसक्ने अवस्थामा पुगेको' व्यहोरा रहेको सुरक्षास्रोतले जनाएको छ। आजको नागरिकमा खबर छापिएको छ।
'हतियार हराएपछि शंकास्पद सबैलाई मनपरी दैनिक कुटपिट र अन्य शारीरिक तथा मानसिक दबाब दिइएको देखियो,' स्रोतले भन्यो।
सेनाको सुदूपश्चिम पृतनाको गरुडदल गुल्मबाट गत साउन २१ गते हतियार हराएको थियो। त्यसको अनुसन्धान चलिरहेका बेला हवल्दार खड्काले पृतनाभित्रै आफ्नै हतियारले कन्चटमा गोली हानी आत्महत्या गरेका थिए।
हराएको हतियार खोज्न सेनाले गठन गरेको 'कोर्ट अफ इन्क्वाइरी' ले डेढ महिनाभन्दा लामो अनुसन्धान गरिसकेपछि असोज पहिलो साता सेनाकै आग्रहमा प्रहरी टोली सुदूरपश्चिम पुगेको थियो।
प्रहरी अनुसन्धान चलिरहेकै बेला असोज ७ मा पृतनाकै गेट नम्बर २ को कापमा हराएको हतियार र गोलीगट्ठा भेटिएको थियो।
प्रहरी प्रवक्ता डिआइजी हेमन्त मल्लले प्रहरी टोली काठमाडौंबाट दिपायल गएको पुष्टि गरे। उनले भने, 'प्रहरी अधिकृतको टोली दिपायल पठाएका छौं, थप अनुसन्धान विवरण आउन बाँकी छ। मुख्य काम हतियार खोज्ने पूरा भएको छ।'
आत्महत्यापछिको अनुसन्धान प्रहरीले जारी राखेकाले यस विषयमा सेनालाई जानकारी नहुने सैनिक प्रवक्ता ताराबहादुर कार्कीले बताए। उनले 'सुसाइड नोट' का विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको बताए।
'घटनास्थलको मुचुल्कादेखि पोस्टमार्टमसम्म सबै प्रहरीले गरेको छ। हामीलाई थाह हुँदैन,' कार्कीले भने।
यसरी भेटिएको थियो हतियार
प्रहरी टोलीले घटनाका दिनको कल डिटेल र लोकेसन मागेको थियो। त्यसबाट सेनाले छानबिन गरिरहेका पाँच जनाका गतिविधि शंकाको घेरामा परेको थियो। प्रहरीले पाँचै जनाको पोलिग्राफ टेस्ट लिँदा एक जना फेल भएका थिए।
अनुसन्धान निचोडमा पुगेको भनिएको रात नै पृतना गेट नम्बर २ को कापमा हराएको हतियार र गोलीगट्ठा भेटियो। 'हामीले एक जनाको टेस्ट नेगेटिभ पाएका थियौं, भोलि तालिमप्राप्त कुकुर खटाउने भनेकै राति हतियार भेटिएको हो,' अनुसन्धानमा खटिएका एक सुरक्षा अधिकारीले भने। अनुसन्धानमा गणकै कुनै व्यक्तिले हतियार लुकाएको देखिएपछि प्रहरीले 'अनुसन्धान पद्धति' लाई प्रविधिमा केन्द्रित गरेको थियो।