सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त रहेपछि साना दलको दौडधुप बढेको खबर आजको राजधानीमा भुवन शर्माले लेखेका छन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सरकारमा नआउने निश्चितजस्तै भएपछि साना दल र तिनका नेताहरु मन्त्री बन्न हतारिएका हुन् । उनीहरुले दशैंअगावै आफूहरुलाई मन्त्री बनाउन पनि दबाब दिइरहेका छन् । अहिले महिला तथा बालबालिका, खानेपानी तथा सरसफाइ र पशुपन्छी मन्त्रालयसहित चार मन्त्रालय खाली छ ।
मन्त्री बन्नका लागि साना दलका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरी दबाब दिँदै आएका छन् ।
पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका विजयकुमार गच्छदारको दल फोरम लोकतान्त्रिकले पनि सरकारमा जान दबाब बढाइरहेको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री बनेका गच्छदार स्वयंले उपप्रधानमन्त्रीसहित सरकारमा आउन ठूलै शक्ति प्रयोग गरिरहेका छन् । तर, प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा उनलाई सरकारमा ल्याउन सकारात्मक देखिएका छैनन् । तर, दाहाल र देउवा फोरम लोकतान्त्रिकलाई दुई ओटा मन्त्रालय भने दिन तयार देखिएका छन् ।
उपप्रधानमन्त्रीसहित एउटा महत्वपूर्ण मन्त्रालय पाएको खण्डमा आफै सरकारमा जाने, नपाए पार्टीबाट सरकारमा कसैलाई नपठाउने गच्छदारको भनाइले उनको पार्टीभित्र अहिले चर्को विवाद छ । पार्टीले पाएको दुई ओटा मन्त्रालय लिएर सरकारमा जानुपर्ने अडान राख्दै फोरम लोकतान्त्रिकका वरिष्ठ नेता रामेश्वर राय यादव र जीतेन्द्र देवलगायतका नेताहरुहरु गच्छदारविरुद्ध खुलेरै लागेका छन् । यसले फोरम लोकतान्त्रिकभित्र चर्को विवाद जन्मेको छ ।
उता, पूर्ववर्ती ओली नेतृत्वको सरकारमा मन्त्री रहेका समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह, परिवार दलका अध्यक्ष एकनाथ ढकाल र बहुजन शक्ति फोरमका अध्यक्ष विसेन्द्र पासवान पनि सरकारमा जान निकै प्रयास गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि सिंहले मन्त्रीबाट राजिनामा दिएका थिए । उनको राजिनामालाई त्यतिबेलै पुनः मन्त्री बन्ने योजनाका रुपमा धेरैले बुझेका थिए । सिंहले केही दिनअघि प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवालाई भेटेर आफूलाई मन्त्री बनाउन आग्रह गरेका थिए । सिंहलाई मन्त्री बनाउन प्रधानमन्त्री र देउवा सकारात्मक भएको स्रोतको भनाइ छ । उनले यसअघिकै मन्त्रालय पाउने सम्भावना छ । ययसअघि उनी खानेपानी मन्त्री थिए । ढकाल र पासवान भने अन्तिम समयसम्म पनि मन्त्रीको जिम्मेवारीमा थिए ।
‘सरकारमा जति धेरै दलहरुको सहभागिता हुन्छ, त्यति धेरै सरकार बलियो र समावेशी हुन्छ, यो मौकाबाट प्रधानमन्त्री उम्कनु हुँदैन,’ परिवार दलका अध्यक्ष ढकालले राजधानीसँग भने । दाहाल नेतृत्वको सरकारमा साना दलका तर्फबाट राप्रपा र नेकपा (संयुक्त) सरकारमा गइसकेका छन् ।