सेवा प्रदायक निजी कम्पनीले आफूखुसी बिजुली कटाइदिँदा बझाङ जिल्ला अस्पताल एक सातादेखि समस्यामा छ। लाखौ मुल्यका भ्याक्सिन बिग्रिएका छन्। गम्भीर प्रकृतिका विरामीलाई उपचारमा समस्या परेको खबर आजको कान्तिपुरमा छापिएको छ।
‘२ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने धेरैजसो भ्याक्सिन बिग्रिएका छन्,’ जिल्ला अस्पताल प्रमुख डा. विष्णु खतिवडाले भने,‘यो महिनाभर नै हामीले खोप सेवा बन्द गर्नुपर्ने भएको छ।’ उनका अनुसार दुई महिनालाई पुग्ने बिसिजी, डिपिटी, पोलियो र दादुराका भ्याक्सिनहरू पूर्ण रूपमा काम नलाग्ने भएका छन्। त्यसको मुल्य २० लाख रूपैयाँ भन्दा बढी हुन्छ। त्यसभन्दा गम्भीर पक्ष सुदूरपश्चिमको दुर्गम यस जिल्लामा बालबालिका खोप लगाउनबाटै बञ्जित हुने भएका छन्। ‘यो महिना दुई हजार बालबालिका खोप लगाउनबाट बञ्जित हुनेछन्,’ उनले भने।
सदरमुकाम र आसपासका गाविसलाई विद्युत उपलब्ध गराइरहेको सुर्मादेवि विद्युत प्रालिले पुनर्निर्माण गर्न भन्दै तीन महिनाअघिदेखि सेवा बन्द गरेको थियो। बैकल्पिक व्यवस्थाका लागि उसले दुईवटा ठूला जेनेरेटर चलाएर सेवा दिएको थियो। त्यसले जिल्ला अस्पताललगायत सरकारी कार्यालयमा बिजुली पुगेको थियो।