‘खाटा बसेको घाउलाई पटक पटक कोट्यायँदैछ। घाउमा अब मलम लगाउने काम गरियोस्,’ करिब १७ वर्षदेखि अत्तोपत्तो नभएका आफ्ना पति पूर्णचन्द्र काफ्लेको अवस्थाबारे जानकारी दिन माग गर्दै पार्वती काफ्लेले बेपत्ता छानबिन आयोगकी सदस्य नरकुमारी गुरुङसमक्ष रुँदै भनिन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा बिहीवार स्याङ्जा सदरमुकाममा आयोजित पीडित तथा सरोकारबालासँगको अन्तर्क्रिया कार्यक्रममा काफ्ले लगायत बेपत्ता परिवारले आयोगका सदस्य गुरुङसमक्ष आफ्ना गुनासा सुनाएका हुन्।
२०५७ असोज ३० गते बिहान ४ बजे उठेर हिँडेका बेरोजगार पतिले कामको खोजीमा पटक-पटक भारत जाने कुरा सुनाउँदा आफूले गाउँमै केही गर्नुपर्छ भनेर रोक्दै आएको पार्वतीले बताइन्। ‘अघिल्लो साँझ साथीहरुले कामका लागि भारत जाउँ भन्दैछन् भनेर सुतेका पति बिहान ४ बजे उठेर हिँड्नुभयो, त्यसपछि अहिलेसम्म बेखबर हुनुहुन्छ,’उनदे भनिन्।
बानेथोक-१ की धनकुमारी काफ्ले पनि आफ्ना छोरा शेषकान्त काफ्लेको अवस्था जान्न चाहन्छिन्। काफ्ले पनि १८ वर्षदेखि बेपत्ता छन्। धान रोप्न हिँडेका काफ्लेको आजसम्म अत्तोपत्तो छैन।
मग्याम चिसापानीकी निशा मल्ला भन्छिन्,‘आफन्त भेट्न हिँड्का पति बेखबर बनेको १० वर्ष बितेछ। हामीलाई एउटै जवाफ छिटो दिनुस्, लास भए कि सास छ?’
ढिलै भएपनि राज्यले पहल गरेको वताउँदै बेपत्ता छानविन आयोगकी सदस्य गुरुङले बेपत्ता भएकाहरुको अवस्थाका बारेमा परिवारलाई जानकारी गराउन आफूलगायत आयोग क्रियाशील भइ काम गरिरहेको जानकारी दिइन्।