‘पञ्चायतकालमा बनारसमा बिपीलाई भेटेर फर्किंदा हामीलाई सीमामै प्रहरीले पक्राउ गथ्र्यो, त्यतिवेलाको गुप्तचरी धेरै बलियो थियो,’ बुधबारको राज्यव्यवस्था समितिको बैठकमा कांग्रेस सांसद आनन्द ढुंगानाले भने, ‘तर, अहिले हतियार नै बोकेर हिँड्दा पनि कसैले चाल पाउँदैनन्, किन यस्तो कमजोर भयो हाम्रो देशको गुप्तचरी?’ नयाँ पत्रिका दैनिकमा समाचार छ।
ढुंगाना मात्र होइन, धेरै सांसदहरूले गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग कमजोर भएको भन्दै आलोचना गरे। विभाग राजनीतिक भर्तीकेन्द्र बनेको र देशको गुप्तचरी कमजोर हुँदै गएको सांसदहरूको भनाइ थियो।
तीन दिनभित्र सुधार ल्याउने गृहमन्त्रीको दाबी
बैठकमा बोलाइएका गृहमन्त्री शक्ति बस्नेत स्वयंले पनि गुप्तचरले राम्रो काम गर्न नसकेको स्विकारे। तर, तीन तीनभित्र गुप्तचरलाई प्रभावकारी बनाउने एउटा योजना सुनाउन लागेपछि सांसदहरूको चासो बढ्यो।
‘तपाईंहरू एउटा दबाब नदिनुस्, म तीन दिनभित्र गुप्तचरमा सुधार ल्याउँछु,’ मन्त्री बस्नेतले भने, ‘जुन जिल्लाको कर्मचारी हो, सोही जिल्लामा गुप्तचरका कर्मचारीलाई नराख्ने निर्णय गरियो भने मात्र पनि धेरै सुधार हुन्छ, तर तपाईंहरूले भोलिदेखि प्रेसर गर्न पाउनुहुन्न।’
गुप्तचरमा बसेर पार्टी राजनीति
राष्ट्रिय अनुसन्धान विभागमा धेरैजसो दलका कार्यकर्ताहरू भर्ती हुने गरेका छन्। उनीहरू विभागमै बसेर पार्टीको राजनीतिसमेत गर्छन्। नियमित रूपमा कार्यालयमा बस्नुनपर्ने भएकाले उनीहरू गुप्तचरीभन्दा राजनीति र अन्य काममा सक्रिय हुने गरेकाले समग्र विभाग नै दलका कार्यकर्ताहरूको एकीकृत विभागजस्तो बन्न पुगेको विभागका एक उच्च अधिकारी बताउँछन्।
भर्ना हुनेहरूको ठूला नेताहरूसँग राम्रो सम्बन्ध हुने भएकाले उनीहरूको सरुवासमेत गर्न नसकिने अवस्था छ।