लागूऔषध एम्फेटामाइनका अन्तर्राष्ट्रिय कारोबारमा एकै परिवारका ४ जना संलग्न रहेको पाइएको छ । यो अन्तर्राष्ट्रिय बजारमा ‘हाई प्रोफाइल’ व्यक्तिले प्रयोग गर्ने लागूऔषध मानिन्छ । कान्तिपुर दैनिकमा समाचार छ।
मंगलबार पक्राउ परेका धादिङ सत्यदेवीका पूर्णबहादुर पाख्रिन र अघिल्लो महिना समातिएका चित्र पाख्रिन काका–भतिजा भएको प्रहरी अनुसन्धानमा खुलेको छ । लागूऔषध नियन्त्रण ब्युरोका डीआईजी जयबहादुर चन्दका अनुसार थाइल्यान्डमा बसेर एम्फेटामाइन ओसारपसार गर्ने मुख्य व्यक्ति भने धर्म पाख्रिन हुन् । पूर्ण भने धर्मका भाइ हुन् । पूर्णकी छोरीसमेत थाइल्यान्डमै रहेर धर्मकै मातहत यही कारोबारमा संलग्न छिन् ।
पूर्णलाई प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको हो । उनकी छोरी राष्ट्रसंघको नक्कली सवारी लाइसेन्स बनाई कूटनीतिक पहुँच मिलाएर एम्फेटामाइन ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ । अर्का अभियुक्त नेत्र गुरुङसहित भतिजा चित्र पक्राउ परेपछि पूर्णले आफू पनि समातिने डरले ब्युरोमा मुद्दा मिलाउन ‘एजेन्ट’ परिचालन गरेका थिए । त्यही एजेन्टको सुराकीका आधारमा उनी प्रहरी फन्दामा परेका हुन् ।
गिरोहमार्फत धर्मले थाइल्यान्डबाटै एम्फेटामाइनलाई अन्तर्राष्ट्रिय बजारमा पैठारी गर्छन् ।