संघीय प्रदेशको सीमांकन सुल्झाउन प्रस्तावित राजनीतिक संयन्त्रको क्षेत्राधिकार र वैधानिकतामा कुरो नमिल्दा तीन ठूला दल र मधेसी मोर्चा माघ पहिलो साता दुई किनारा लागेका थिए । माघ मसान्तका दिन (शुक्रबार) उनीहरू फेरि पुरानै विन्दु वरिपरि सहमति खोज्न कस्सिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ।
माघ ३ गते तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा कार्यदलबीच प्रस्तावित संयन्त्रको संवैधानिक वैधता र कार्यविधिबारे मतान्तर भएपछि माघ ४ गतेको शीर्षवार्ता तिक्ततामा परिणत भएको थियो । माघ ६ गते मोर्चाले पत्रकार सम्मेलन गर्दै सहमति नहुने भए कार्यदलको औचित्य सकिएको भन्दै आफ्नो कार्यदल नै भंग गरिदिएको थियो । तर बालुवाटारमा शुक्रबार बिहान भएको 'सौहार्द कुराकानी' सँगै मोर्चा कार्यदल ब्युँतिएको छ ।
कार्यदल सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यका अनुसार आइतबारभित्र संयन्त्र विवाद टुंग्याउने प्रयत्न भइरहेको छ । 'दुवै पक्षबीच खुलेर कुराकानी भएको छ,' बालुवाटार बैठकपछि आचार्यले भने, 'बढीमा एक-दुई दिनभित्रमा ठोस परिणाम आउने गरी हामी संवादमा जुटेका छौं ।'