‘भारतको नाक जोगाइदिन हामीले असोज ७ गते राजविराज बैठकबाट नाकाबन्दीको जिम्मा लियौं, हाम्रो नाक काटेर भारतले माघ २२ गते वीरगन्ज नाका खोल्न सादा पोशाकका सुरक्षाकर्मी परिचालित गर्यो ।’ कान्तिपुर दैनिकमा समाचार छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक उच्च नेताले बुधबार भारतले अपमानजनक ढंगले मोर्चालाई सीमा नाकाबाट हटाउन भूमिका खेलेको स्वीकारे । उनले थपे, ‘आज यही कारणले सिंगो मधेसमा भारतविरोधी भावना बढेको छ । कार्यकर्ता, समर्थक र आम सर्वसाधारण भारतमात्रै होइन, हामीसँग समेत रिसाएका छन् ।’
अनामनगरमा भएको करिब एक घण्टाको कुराकानीमा ती नेताका दुई मोबाइल सेट तारन्तार बजिरहे । अधिकांश फोन उठाउँदै उठाएनन् । उठाएका फोनमा पनि झर्कोफर्को गरिरहे । भने, ‘केही दिन पर्खनूस् न । हामी बसेर सामूहिक पहल गर्छौं ।’
सरकारी कागजात, लाइसेन्स, उद्योग कारखाना नवीकरण गर्ने अन्तिम म्याद हरेक वर्षको साउन मसान्त हो । त्यस बेलासम्म मोर्चा संविधान निर्माण प्रक्रिया र सीमांकनप्रति आपत्ति जनाउँदै आमहड्तालमा ओर्लिइसकेको थियो । मधेसका सरकारी कार्यालय ठप्प थिए । यस्तोमा कसरी कागजात नवीकरण हुनु ? कार्यकर्ता, समर्थकहरु यसबीचका छ महिनामा सरकारले तिराउन खोजेको जरिवाना मिनाहा गराइदिन नेताहरुलाई फोन गरेको गर्यै छन्, उठाइसक्नु छैन ।
अनि ती आम नागरिक, जसको आफ्नो भन्नु जीवनमात्रै छ । परिवार, बालबच्चा र अलिकति जग्गा छ । तीमध्ये कतिपय घाइते, अंगभंग छन् । आन्दोलनमा ठयाक्कै कति मारिए, कति अंगभंग भए, मोर्चासँग वास्तविक आँकडा छैन ।