इजरायल सरकारले केयर गिभरका लागि नेपालबाट लैजान खोजेको कामदार पठाउने काम तालिम दिने संस्थाका कारण अनिश्चित बनेको छ । केयर गिभरको तालिम दिन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सूचीकृत गरेका संस्थाले तीनमहिने तालिम एक महिनामै सकेर तीनमहिने प्रमाणपत्र जारी गरेपछि इजरायलको रोजगारी अनिश्चित बनेको हो । नागरिक दैनिकमा समाचार छ ।
इजरायल जाने केयर गिभरले अनिवार्य रुपमा तीनमहिने तालिम लिएको हुनुपर्ने नियम इजरायल सरकारले बनाए पनि नेपालका तालिम दिने संस्थाले एक महिनाको तालिम दिएर तीन महिने तालिम सकेको प्रमाणपत्र जारी गरेपछि समस्या आएको हो ।
वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मीले इजरायल जान पहिलो चरणमा दर्ता भएका आठ सय १८ निवेदनमध्ये ६ सय २५ जनाले एकमहिने तालिम लिएर तीन महिने प्रमाणपत्र पेस गरेका छन् । पाठ्यक्रम अनुसार नतालिम लिएर तीन महिने प्रमाण्पत्र पेश गरिएपछि विभागले ती प्रमाणपत्रलाई नक्कली भन्दै छानविन अघि बढाएको छ । छानबिन जारी रहुन्जेल नेपाली युवायुवती इजरायल जान पाउने नपाउने अनिश्चित बनेको रेग्मीले बताए ।
इजरायल जानेलाई केयर गिभरको तालिम दिन विभागले १९ वटा अभिमुखीकरण संस्थालाई जिम्मेवारी दिएको थियो । एक महिने तालिम दिएर तीन महिनाअबधि राखी प्रमाण्पत्र जारी गरेपछि ती प्रमाण्पत्रबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको छ ।