विनाशकारी भुकम्पमा तीन वर्षको छोरा गुमाउनुको पीडा छ, महांकाल गाउँ विकास समिति–२ का शंकर तामाङसँथग । भुकम्पमा गुमाएको नाबालक छोरालाई उनी बिस्तारै भुल्दै छन् । तर पटक पटक त्यही छोराको नाममा राहत रकमका लागि सदरमुकाम धाउनुपर्दा उनलाई भुकम्पको पीडा बल्झाउँछ । राजधानी दैनिकमा समाचार छ ।
भुकम्पको आठ महिना बितिसक्दा पनि उनले मृतक छोराको नाममा सरकारले दिने भनेको १ लाख रुपैयाँ राहत पाउन सकेका छैनन् । सोमबार तेस्रो पटक १ लाख राहत रकमका लागि जिल्ला प्रशासन कार्यालयमा आइपुगेका उनले भने–तीन पटक आएँ तर राहत रकम पाइनँ। भुकम्पमा परी मृत्यु भएकाहरु परिवारलाई सरकारले यसअघि नै १ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
धेरैले यो रकम पाए पनि अझै यो रकम नपाउनेको संख्या बढिरहेको छ । १ लाख मात्रै होइन किरिया खर्चबापत पाउने ४० हजार पनि धेरैले पाएका छैनन् ।