नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले धनगढीमा राखेको कार्यक्रमलाई लिएर सभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेलसँग चिढीएका छन् । प्रतिष्ठानका सभापतिसमेत रहेका पौडेलले कोइराला उपचारका लागि अमेरिका गएकै मौकापारी कार्यक्रम तय गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
आफूसँग सल्लाह नगरी प्रशिक्षण कार्यक्रममार्फत् चुनावी अभियानमा लागेको भनेर कोइराला पौडेलसँग रुष्ट भएका हुन् । बुधबारदेखि सुरु भएको सुदुरपश्चिमाञ्चल स्तरको अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्न कोइराला गएनन् । समापनका लागि बरिष्ठ नेता शेरबहादुर देउवा बिहीबार जाने तयारीमा छन् ।
स्रोतका अनुसार कोइरालाले माघको दोस्रो सातासम्म घोषणा नगर्न पौडेललाई आग्रह गर्दै आएका थिए । माघको दोस्रो साताभित्र पार्टीको स्थानीय तहको अधिवेशन सम्पन्न भइसक्छ । स्थानीय तहको अधिवेशन सकिएपछि मात्रै उम्मेदवारी घोषणा गर्नुपर्ने कोइरालाको जोडलाई पौडेलले संसयको रुपमा लिँदै आएका छन् ।
कोइरालाको यो आग्रहलाई पौडेलले आफैं प्रतिस्पर्धामा उत्रने चाहनाको रुपमा प्रकट गर्दै आएका छन् ।