काभ्रे होक्स-२ का ज्ञानबहादुर मिजारले आफ्नो एउटा मिर्गौला मकवानपुरको पालुङ निवासी सूर्यभक्त श्रेष्ठलाई बिक्री गरे । नेपालको कानुनमा नजिकका आफन्तलाई मात्र मिर्गौला बेच्न पाउने व्यवस्थाअनुसार उनले श्रेष्ठको नाममा नक्कली नागरिकतालगायतका सबै झुटा कागजात बनाएर भारत पुगेर मिर्गौला बेचेका हुन् । राजधानी दैनिकमा समाचार छ ।
होक्सेकै मोहन सापकोटामार्फत मिर्गौला तस्करी गर्ने भक्तपुर दुवाकोटका प्रेमबहादुर थापामार्फत पालुङका श्रेष्ठलाई मिर्गौला बेच्नका लागि उनले नक्कली कागजपत्र बनाउनु परेको थियो । नेपालबाट सुनौलीसम्म जिप र गोरखपुरदेखि रेलदमा भारतको चण्डीगढ पुगेर सिन्भर वक्स अस्पतालमा मिर्गौला बेचेवापत मिजारले ७० हजार रुपैयाँ पाएका थिए । आथिक प्रलोभनमा पारेर तस्करहरुले मिजारजस्ता धेरै सोझासीधा जनतालाई नक्कली काजपत्र बनाएर मिर्गौला तस्करी गर्ने गरेको पाइएको छ।
नेपालमा मिर्गौला तस्करीबारे गरिएको एक अनुसन्धानले यो तथ्य बाहिर ल्याएको हो । नागरिकता, नाता प्रमाणित, ट्राभल डकुमेन्टलगायत सबै कागजात नक्कली बनाइ मिर्गौला बेचबिखन हुने गरेको अनुसन्धान प्रतिवेदनले खुलाएको छ ।