बढदो वायु प्रदूषणसँगै स्थानीय स्तरमा उत्पन्न भएकार् चिसो बादलका कारण राजधानीसहित देशभर तापक्रम घट्ने क्रम जारी रहेको मौसमविद्हरूले बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
‘वायु प्रदूषणले सूर्यको किरण वायुमण्डलमै रोकिदिएको छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले आइतबार भने, ‘दिन छोटिने क्रम जारी भएकाले पनि गत सातादेखि अधिकतम र न्यूनतम तापक्रममा गिरावट आइरहेको छ । त्यसले चिसो बढाएको छ ।'
राजधानीको न्यूनतम तापक्रम आइतबार २ डिग्रीमा झरेको छ भने जुम्ला र जिरीमा माइनससम्म पुगेको छ । अधिकतम तापक्रम पनि राजधानीमा १७, जिरी, ताप्लेजुङ, जुम्ला, डडेलधुरा तथा ओखलढुंगामा १२ को हाराहारी झरेको छ ।
२२ डिसेम्बरसम्म दिनहरू छोटिने क्रम जारी रहने र छोटा दिनमा पुरै समय सूर्यको किरण वायुमण्डलमै रोकिने हुनाले चिसो बढेको हो । ‘छोटा दिनमा अलिअलि पनि घाम जमिनमा नआएपछि चिसो स्वत: बढ्छ,’ मौसमविद् अर्यालले भने, ‘अहिले त्यही भएर बढी चिसो महसुस भएको हो ।’