छठपछि सामान्य रहेको तराईमा शुक्रबारबाट फेरि आन्दोलन चर्किएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
शुक्रबार जनकपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । शनिबार वीरगन्ज र गौरमा हिंसात्मक झडप भएको छ । झडपले दुवै सहर शनिबार दिनभर तनावग्रस्त भए । आन्दोलनकारीको प्रदर्शनका कारण वीरगन्जको घन्टाघर, माईस्थान र गौरको क्रान्तिचोक शनिबार दिनभर तनावग्रस्त बनेका थिए ।
वीरगन्ज र गौर दुवै ठाउँमा मोटरसाइकल सञ्चालनमा समेत अवरोध सिर्जना गर्ने क्रममा प्रदर्शनकारीलाई प्रहरीले रोक्न खोज्दा झडप सुरु भएको हो । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले आन्दोलनमार्फत सरकारलाई निरन्तर दबाब दिने बताए । मोर्चाले सरकारी कार्यक्रम बिथोल्ने र प्रतिरोध गर्ने उनले बताए । ‘अहिलेकै अवस्थामा झडप बढ्न सक्छ, सरकार जिम्मेवार हुन सकेको छैन,’ त्रिपाठीले भने ।