थाहा नगरपालिका गठन नहुँदै मकवानपुरको दामन गाविसमा एक हजार नौ सय १३ घरधुरी थिए । तर, महाभूकम्पपछि क्षति हुने घरको संख्या दुई हजार चार सय १३ देखाइयो । पालुङमा पनि एक हजार दुई सय ३६ घरधुरी रहेकामा भूकम्पपछि एक हजार सात सय ९४ पुग्यो । रसुवाको लहरेपौवामा एक हजार ५३ घरधुरी रहेकामा क्षति हुने घरको संख्या एक हजार चार सय ९५ उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ ।
‘एउटै चुलोमा पकाएर खाएकाहरू भूकम्पपछि चारवटा शिविरमा बसेर छुट्टाछुट्टै परिवार भनी विवरण टिपाएका छन्,’ भूकम्पपछि क्षतिको स्थलगत विवरण संकलनमा खटिएका स्थानीय विकास मन्त्रालयका एक अधिकृतले भने, ‘दलीय संयन्त्रमा रहेका सबैले सिफारिस गरेका छन्, कसरी त्यसलाई अस्वीकार गर्नु ?’
६६ हजार ६ सय ३५ घर रहेको सिन्धुपाल्चोकमा भूकम्पपछि बढेर ८० हजार पुगे । ‘त्यसमा समेत आफूहरू छुटेको भनेर थप तीन हजारले घर पूर्ण क्षति भएको निवेदन दिएका छन्,’ गृह मन्त्रालय स्रोतले प्रश्न गर्दै भन्यो, ‘उनीहरूको निवेदन स्वीकार्ने हो भने १७ हजार घर थपिन्छन्, के उनीहरू सबै साँच्चिकै घरवारविहीन भएका वास्तविक पीडित हुन् ?’