कांग्रेसमा बल्लतल्ल टुंगिएको क्रियाशील सदस्यताको प्रतिवेदनमाथि शुक्रबार पनि पक्ष र विपक्षमा मत अभिव्यक्त भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
बिहीबारको बैठकमा नेता शेरबहादुर देउवा पक्षले केही विवादित जिल्लाको सदस्यता स्थगन गर्न नहुने र संस्थापनले छानबिन समितिले दिएको प्रतिवेदनको पक्षमा बोलेका थिए । तर, शुक्रबारको बैठकमा भने संस्थापन र देउवा पक्षका नेताहरूले मिश्रित धारणा राखेका छन् ।
जिल्ला र क्षेत्रमा आफ्नो संगठन, स्वरूप र शक्तिमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । केही सदस्यहरूले पनि सप्तरी, पर्सा, महोत्तरी, धनुषाजस्ता जिल्लामा सधैँ समस्या देखिने गरेको भन्दै सोही समस्यामा अल्झन नहुने बताएका थिए ।
बैठकमा लामो समय लिएर केन्द्रीय सदस्य बलबहादुर केसीले सोलुखुम्बुमा जिल्ला सभापति आङगेलु शेर्पाले मनलाग्दी रूपमा सदस्यता वितरण गरेको भन्दै विधि र प्रक्रिया मिचेर बाँडिएको सदस्यतालाई मान्यता नदिई १२औँ महाधिवेशनको सूचीअनुसारको मान्यता दिन माग गरे ।