नेपालले चीनसँग यातायात तथा पारवहन सम्झौता गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा यसै साता चीन पुगेर आधा दर्जनभन्दा बढी दुईपक्षीय सहकार्यसम्बन्धी सम्झौता गर्ने भएका छन् । उनको उपस्थितिमा नेपाल-चीन मोटर भेहिकल, पारवहन, आर्थिक सहयोग तथा इन्धन आपूर्तिका लागि व्यापार सम्झौतासमेत गर्ने तयारी छ ।
परराष्ट्रमन्त्रीको पाँचदिने चीन भ्रमणका क्रममा द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता (बिप्पा) समेत गर्ने तयारी छ । नेपालले सबै प्रक्रिया पूरा गरी चीनलाई बिप्पा सम्झौताको मस्यौदा पठाइसकेको छ । यसबारे उच्चस्तरको छलफलमा केही हेरफेर भएर टुंगोमा पुग्ने अधिकारीहरूले बताएका छन् ।
चिनियाँ लगानीमा नेपालभित्र इन्धन भण्डारणस्थल बनाउने तयारीसमेत अघि बढेकाले पनि बिप्पा महत्त्वपूर्ण देखिएको हो । चिनियाँ लगानीकर्तामार्फत नुवाकोट, पाँचखाल तथा धादिङमा इन्धन भण्डारण बनाउनेबारे दुई देशबीच गृहकार्य भइरहेको छ ।