सरकार र आन्दोलनरत पक्षबीच वार्ता गराउन मध्यस्थताका रूपमा केही मानवअधिकारवादी र राजनीतिक विश्लेषक लागेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
मध्यस्थताको भूमिकामा दमनाथ ढुंगाना, सुन्दरमणि दीक्षित, दीपेन्द्र झा, तुलनारायण साह, विजयलाल कर्णलगायत रहेको तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठीले बताए । मध्यस्थताको भूमिकाभन्दा पनि वार्ता होस् भनेर आफूहरू लागेको तुलनारायण साहले बताए ।
उनले भने, ‘हामी आन्दोलनरत पक्ष र सरकारबीच वार्ता होस् भन्ने पक्षमा छौँ, मध्यस्थता नै भन्नेचाहिँ होइन ।’ अनिच्छापूर्वक भए पनि वार्तामा जानु राम्रो हुने नेताहरूलाई भनेको साहले बताए । ‘वार्तामा पुगेपछि मूर्तता आउँछ भनेर मैले मधेसी नेताहरूलाई भनेको हो,’ उनले भने, ‘वार्तामा नगए अन्तर्राष्ट्रिय समुदायले पनि तपाईंहरूलाई गलत देखाउँछ पनि भनेको हो ।’