प्रमुख चार दलबीच नमिलेका विषयमा समान धारणा बनाएर संविधानको विधेयकमाथि संयुक्त संशोधन प्रस्ताव हाल्ने सहमति भएको छ । संयुक्त प्रस्ताव बनाउन चार दलले कार्यदल गठन गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
बालुवाटारमा बिहीबार बसेको चार दलका शीर्ष नेताको बैठकले संशोधन हाल्ने संयुक्त प्रस्ताव बनाउन कांग्रेस महामन्त्री कृष्ण सिटौला, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहेको कार्यदल गठन गरेको हो ।
प्रमुख दलबीच सीमांकन, शासकीय स्वरूप, धर्म, थ्रेसहोल्ड, दलित तथा महिलाको समावेशी सहभागिता, उत्पीडित आदिवासीलाई अधिकार दिने विषयमा समान धारणा बनेको छैन । मिलेका र नमिलेका विषयलाई कार्यदलले मिलाउने एमाले नेता माधवकुमार नेपालले जानकारी दिए । ‘सहमति हुन सक्ने विषयको खोजी गर्ने र सहमति हुन नसकेका विषयबारे नेतृत्वलाई जानकारी गराउन कार्यदल गठन गरिएको छ,’ नेपालले भने, ‘कार्यदलले ती विषय निक्र्योल गरेपछि शीर्ष नेता बसेर संशोधनको संयुक्त खाका तयार गर्नेछ ।’
वनमन्त्री महेश आचार्यले पनि शुक्रबार दलबीच छलफल गरी संयुक्त प्रस्ताव टुंग्याउने जानकारी दिए । उनले भने, ‘विधेयकमा संयुक्त संशोधन हाल्ने भन्ने भएको छ । यसका लागि शुक्रबार दिनभर छलफल गर्ने तय भएको छ ।’ संविधानको विधेयकमाथि संशोधन हाल्ने शनिबार अन्तिम दिन हो ।