पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ । कान्तिपुर दैनिकमन समाचार छ ।
बलात्कार अभियोग मुद्दामा २०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका-४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २ महिना १० दिनका लागि जेल चलान गरिएको अदालतका तहसिलदार दीपेन्द्रनाथ योगीले बताए ।
मुद्दा दायर गर्ने पत्नीको भने मृत्यु भइसकेको अदालतले जनाएको छ । जाहेरी गर्ने पत्नीको मृत्यु भइसके पनि अदालतको फैसला कार्यान्वयनका लागि उनलाई जेल चलान गरिएको योगीले बताए ।
त्यस्तै, लागूऔषध गाँजाको मुद्दामा २०६६ मंसिर २९ गते भक्तपुर अदालतले एक महिना कैद र १ हजार जरिवानाको फैसला गरेपछि फरार भएका कृष्ण बयरकोटीलाई पनि पक्राउ गरी डिल्लीबजार कारागार चलान गरिएको अदालतले जनाएको छ ।