मधेसका विभिन्न जिल्लामा भइरहेको आन्दोलन र हिंसाका घटनाप्रति व्यवस्थापिका संसदले सरकारको गम्भीर ध्यानकार्षण गराउँदै गृहमन्त्री वामदेव गौतमसँग जानकारी लिने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
आन्दोलनरत क्षेत्रका सांसदहरूले सरकारले बल प्रयोग गरी आन्दोलनकारीमाथि दमन गरेको, वार्ताको पहल नगरेको भन्दै आलोचना गरेका थिए । बारा र पर्साका घटनामा उनीहरूले बढी प्रश्न उठाएका थिए ।
सांसदहरूले धारणा राखेपछि सभामुख सुवास नेम्वाङले आन्दोलनमा सामान्य जनताको मृत्यु भएको, सरकारले दमन गरेको भनी प्रश्न उठेकाले यसबारे गृहमन्त्रीलाई अर्को बैठकमा सदनमै उपस्थित भई जानकारी दिन रुलिङ गरेका छन्।
'अहिले भइरहेको आन्दोलनको सन्दर्भमा भएका दुःखद मृत्यु र घाइते भएको अवस्था लगायतका प्रसंग उठेका छन् । सरकारको एकमुष्ठ ध्यानाकर्षण गराउन चाहन्छु । त्यसबारे अर्को बैठकमा सहभागी भई जवाफ दिन गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु,' नेम्वाङले भने ।