संविधान निर्माण नेपालको आफ्नो आन्तरिक विषय भएकाले यसलाई लिएर आन्तरिक एकता कमजोर बनाउने खालको कुनै पनि अभिव्यक्ति र गतिविधि नगर्न एमालेले विदेशी मुलुक र त्यसका संघसंस्थाहरुको ध्यानाकर्षण गराएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
एमाले स्थायी समितिको सोमबारको बैठकले विदेशीहरुको भूमिकाबारे समिक्षा गर्दै नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका नेता र प्रतिनिधिहरुले दिने गरेको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
'मित्रराष्ट्र र व्यक्तिहरुले संविधान निर्माणबारे गरेको टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको छ' बैठकपछि एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'एकता कमजोर बनाउने गरी अभिव्यक्ति नदिन आग्रह गरेका छौ ।'
संविधान निर्माण नेपालको आन्तरिक काम भएको र सार्वभौम संविधानसभाले यो काम अघि बढाइरहेको सन्दर्भमा यसलाई मित्रराष्ट्रहरुको सद्भाव र समर्थन रहनुपर्ने एमालेको निष्कर्ष छ ।