पाँच जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डसम्बन्धी सम्पूर्ण मुद्दाका मिसिल जिल्ला र पुनरावेदन हुँदै सर्वोच्च अदालत आइपुगेको छ। नागरिक दैनिकमा समाचार छ ।
न्यायाधीशद्वय दीपकराज जोशीसहितको इजलासले सम्पूर्ण कागज तथा प्रमाणसहितको फाइल मगाउने आदेश गरेको थियो। सो आदेशपछि प्राप्त कागजमा घटनामा मुत्यु भएका स्थानीय महन्त विमल शरणका छोरा रामकुमारले दिएको किटानी जाहेरीसमेत छ।
जिल्ला अदालत धनुषा र पुनरावेदन अदालत जनकपुरमा समेत दर्ता अस्वीकार भएको उक्त निवेदनका विषयमा बहसका क्रममा कुरा उठेपछि सर्वोच्चले कागजात झिकाएको थियो ।
२०६९ वैशाख १८ गते जनकपुरमा बम विस्फोट सद्भावना पार्टीका नेता सञ्जयकुमार साहकै योजना र निर्देशनमा भएको दाबी गर्दै दोस्रो अभियोगपत्र निर्माण गरी मुद्दा दायर भएको थियो। सुरुमा साहको नाम किटानी जाहेरीमा नरहे पनि अनुसन्धानका क्रममा पक्राउ परेका एक अभियुक्तले पोलेको भनी प्रहरीले साहलाई पक्राउ गरेको थियो। पहिलो अभियोगपत्र दायर भएपछि सार्वजनिक भएको सिडी र सहअभियुक्तको पोललाई आधार बनाउँदै प्रहरीले साहलाई पनि विपक्षी बनाएको थियो। तर, घटनास्थलमा मृत्यु भएका महन्तका छोराले दिएको जोहेरीमा अनुसन्धान हुनुपर्ने तर्क बहसका क्रममा उठेको थियो। त्यसपछि सक्कल फाइल मागिएको थियो।
अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्षित गर्दै भएको बम विस्फोटनलगत्तै पक्राउ परेका पाँच जना व्यक्तिविरुद्ध तत्काल मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा साहसँग विभिन्न व्यक्तिको टेलिफोन कुराकानी भएको देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरी पूरक मुद्दा दायर गरेको थियो।