सात करोड २४ लाख रुपैयाँ अनियमितताको आरोपमा नारायणी विकास बैंकका पूर्वसञ्चालक तथा कर्मचारी पक्राउ परेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकका तीन पूर्वकर्मचारीलाई पक्राउ गरेको हो । सिआइबीले तत्कालीन महाप्रबन्धक वीरेन्द्र श्रेष्ठ तथा कर्मचारी दीपक श्रेष्ठ र सुरेश लामिछानेलाई आइतबार पक्राउ गरेको हो ।
बैंकका तत्कालीन अध्यक्ष दिव्यकुमार श्रेष्ठले कर्मचारीसँगको मिलेमतोमा पटक–पटक विनाधितो सात करोड २४ लाख ७७ हजार ६ सय ५० रुपैयाँ लिएका थिए । उनले रकम फिर्ता नगरेपछि कर्मचारीसमेत फसेका हुन् । श्रेष्ठ र पूर्वकर्मचारी रामचन्द्र तिमल्सिनालाई यसअघि नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनीहरू क्रिस्टल फाइनान्सको अनियमिततामा पहिलेदेखि नै जेलमा थिए । पाँचैजनालाई कारबाहीका लागि चितवन प्रहरीमा बुझाइएको सिआइबीका एसपी श्यामराज ज्ञवालीले बताए । पूर्वअध्यक्ष श्रेष्ठले ०५९ मा चितवनको भरतपुर, टाँडी, नारायणघाट र यज्ञपुरी शाखाबाट कर्मचारीलाई प्रभावमा पारी सापटी भन्दै पैसा लिएका थिए । नेपाल राष्ट्र बैंकको अनुसन्धानबाट बैंकिङ नियमविपरीत पैसा निकालेको र नतिरेको खुलासा भएको थियो । राष्ट्र बैंकले गत १५ माघमा अनुसन्धानका लागि पत्राचार गरेको थियो ।