नक्कली चावी बनाएर कम्प्युटरको पसलबाट २० लाख रुपैयाँभन्दा बढीको सामान चोरी गरेको र चोरीको सामान किनेको आरोपमा तीन जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त जनसेवाले चोरीमा संलग्न रहेको आरोपमा बिजय लोप्चन र उनले चोरेको सामान किनेको आरोपमा सविन कर्माचार्य र गम्भीर सुनारलाई पक्राउ गरेको हो। नागरिक दैनिकमा समाचार छ ।
वृत्तका प्रमुख विनोद घिमिरेका अनुसार २० दिनअघिदेखी ताम्राकार हाउस नजिक रहेको हिमकम इन्टरनेशनल कमप्युटर पार्टस्को थोक पसलमा नियमित चोरी भइरहेको थियो। सन्तोश श्रेष्ठको गोदामबाट पटक–पटक ल्यापटपलगायत २० लाख रुपैंया बढीका कम्प्युटरका पार्टस्हरु चोरी भएपछि प्रहरीले निगरानी बढाएको थियो।
निगरानीको क्रममा सिन्धुपाल्चोकका लोप्चनले सो गोदामको नक्कली चावी बनाएर गोदाम बन्द भएको अवस्थामा खोली सामान चोर्ने गरेको खुलेपछि उनी कालोपुलबाट पक्राउ परेका हुन् । घिमिरेका अनुसार चोरी आरोपमा पक्राउ परेका लोप्चनले एक महिनाअगाडि मात्रै सो पसलमा काम छाडेका थिए । अनुसन्धानमा उनले चोरीको योजना बनाएर गोदामको नक्कली चावी बनाएपछी काम छाडेको खुलेको छ।
प्रकाशित मिति: 2015-07-29 06:05:48