काठमाडौं-मंगलबार बिहान ७ बज्दा–नबज्दै सडकका दायाँबायाँ ट्राफिक प्रहरीले सर्वसाधारण सवारीचालकलाई रोके।
'किन?'
प्रहरीले जवाफ दिए, 'भिभिआइपी सवारी!'
राष्ट्रपति वा प्रधानमन्त्री कोही औपचारिक कार्यक्रमका लागि कतै जाँदैछन् भन्ने सोचेर सर्वसाधारण रोकिए।
केहीछिनमै शीतलनिवासबाट राष्ट्रपति औपचारिक कार्यक्रममा सहभागी हुँदा चढ्ने बा९च ७०५७ नम्बरको सवारी अघिपछि सुरक्षाकर्मीसहित निस्कियो, आजको नागरिक दैनिकमा बलराम पाण्डेले खबर लेखेका छन्।
पुतलीसडक, सिंहदरबार हुँदै सवारी कारगेड बानेश्वरतर्फ अघि बढ्यो।
बबरमहलबाट सवारीमा घोडचडी बग्गी पनि थपियो। अघि र पछि बग्गी, बीचमा सुरक्षाकर्मीको लावालस्कर नै बानेश्वरतर्फ अघि बढ्यो।
सर्वसाधारण त्यतिबेला अचम्मित भए, सवारीमा राष्ट्रपति वा प्रधानमन्त्री देखिएनन्।
बग्गीसहितको लावालस्कर ठिक सात बजे संविधानसभा भवन प्रवेश गर्यो।
झकिझकाउ पारिएको संविधानसभा भवनको मूल गेटअघि पानीका फोहोराले सवारीको शोभा बढाइरहेका थिए।
संविधानसभाको मूलढोकामा कानुनमन्त्री नरहरि आचार्य, सभामुख सुवास नेम्वाङ, उपसभामुख ओनसरी घर्ती, संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, सचिव मुकुन्द शर्मा, संसद सचिवालयका सह–सचिवहरु स्वागतका लागि आतुर थिए।
अर्कोपट्टी ब्यान्डसहितका सुरक्षाकर्मी सलामीका लागि तयार थिए। त्यत्तिकैमा राष्ट्रपति चढ्ने गाडीबाट एक सुरक्षाकर्मी राष्ट्रपतिकै शैलीमा बिस्तारै निस्किए र संविधानसभातर्फ अघि बढे।
त्यसपछि मात्रै थाहा भयो, 'बुधबार संसदमा सरकारका तर्फबाट पेस हुने नीति तथा कार्यक्रममा राष्ट्रपति कसरी आउँछन् भनेर गरिएको रिहर्सल।'
राष्ट्रपतिको सवारीसाधनमा सवार ती सुरक्षाकर्मीलाई कानुनमन्त्री, सभामुख, उपसभामुख, महासचिव लगायतले स्वागत गरे।
अनि उनलाई सलामी दिइने स्थानमा उभ्याइयो। अर्कोतर्फ रहेका सुरक्षाकर्मीले उनलाई सलामी पनि अर्पण गरे।
त्यसपछि संविधानसभाको बैठक कक्षमा प्रवेश गराइयो। संविधानसभा बैठक कक्षमा कानुनमन्त्री, सभामुख अघिअघि र ती सुरक्षाकर्मी पछिपछि प्रवेश गरे।
राष्ट्रपति प्रवेश गर्ने ढोका हुँदै उनलाई सभामुख च्याम्बरको दायाँसम्म पुर्यानइयो। त्यसपछि राष्ट्रपति बस्ने, नीति तथा कार्यक्रम वाचन गर्नेलगायत विषयमा जानकारी गराएर उनलाई त्यसैगरी मूलढोका बाहिरसम्म विशिष्ट व्यक्तिहरु नै छाड्न निष्किए।
बाहिरिँदै गर्दा उनलाई राष्ट्रिय धून बजाएर बिदाई गरियो।
सरकारका तर्फबाट राष्ट्रपति रामवरण यादवले बुधबार दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।