नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले बनाउँदाबनाउँदै च्यातिएको संविधानले जनताको भावना कदर गर्न नसक्ने बताएका छन्।
जनअधिकार अभियान नेपालले मंगलबार राजधानीमा गरेको अन्तक्र्रियामा बोल्दै उनले अहिले आएको मस्यौदाअनुसारको संविधान आफ्नो पार्टीले स्वीकार नगर्नेसमेत स्पष्ट पारेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ। ‘बल्ल संविधानको मस्यौदा आएको छ, मस्यौदा आउँदाआउँदै जलाउने र च्यात्ने काम भएको छ, यसले जनताको भावना समेट्न सक्दैन,’ उनले भने, ‘यस्तो संविधान मानिदैन, यसका विरुद्ध संघर्ष गरिन्छ।’
चन्दले कांग्रेस–एमालेले जनयुद्धकारी शक्तिसँग गरेको सम्झौताबाट पछाडि हटेर संविधान लाद्न नपाउने पनि बताए। उनले अहिलेको संविधानको मस्यौदामा ०१५ र ०४७ को अवशेष भेटिएको पनि दाबी गरे। जनताले शान्ति र समृद्धि नपाए क्रान्ति अनिवार्य बन्न जाने उनको भनाइ थियो। ‘हामी संविधानविरोधी होइनौँ, पराजित र असफल नीति–नियम लाद्ने हो भने आँधीबेहरीसहितको क्रान्तिले संविधान लेख्छ,’ उनले भने, ‘जनताले शान्ति र समृद्धि नपाए क्रान्ति आवश्यक हुन्छ, क्रान्तिलाई कानुनको बारले छेक्दैन।’
आफूहरूले शान्ति, रूपान्तरण, निकास, परिवर्तन र आत्मनिर्भर अर्थतन्त्र चाहेको भन्दै उनले यसका लागि संघर्ष वा आत्मसमर्पण विकल्प भएको बताए। उनले राजनीतिक सम्मेलनमार्फत सहमति र निकास दिने अर्को विकल्प पनि कायम रहेको बताए। चन्दले आफूहरूले कांग्रेस, एमाले र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईबाट धोका पाएको दाबी गरे।