७ जेठ : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरूबाट एक पेस्तोल बरामद
५ असार : भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका वेगबहादुर तामाङ, सम्राट राई, सुनील तामाङ र सन्देश तामाङ दुईवटा अत्याधुनिक पेस्तोलसहित पक्राउ
१४ असार : ककनीबाट निजी कारमा काठमाडौं फर्कंदै गरेका चार युवक गोलढुंगामा पेस्तोलसहित पक्राउ । पाँचवटा गोली लोड भएको पेस्तोल जयबहादुर रोकायले कम्मरमै भिरेका थिए ।
राजधानीमा साना हतियार बरामदका पछिल्ला घटना हुन् यी । यसले साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ भन्ने देखाएको छ । केहीले आपराधिक उद्देश्यले पेस्तोल बोक्ने भए पनि केही युवाले भने फेसनका रूपमा पेस्तोल राख्न थालेको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
साना हतियारप्रति भर्खरै गुन्डागर्दीमा लागेकाहरू, ठेकेदार, दलका कार्यकर्ता र अवैध काम गर्नेको मोह बढेको छ । पुराना गुन्डाले भने हतियार लुकाएर राखेको प्रहरीको सूचना छ ।
साना हतियार नियन्त्रणमा प्रहरीले बलियो संयन्त्र नबनाउँदा बिगबिगी बढ्दै गएको छ । साना हतियार पनि सुरक्षामा प्रमुख चुनौती भएको र नियन्त्रणका लागि आफूहरूले अप्रेसनको तयारी गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।
बा.६च ११५ नम्बरको मारुती कारमा सवार चार युवा ककनीबाट फर्कंदै गर्दा प्रहरीको चेकिङमा परे । गाडी प्रहरीले खानतलासी गरेलगत्तै उनीहरू भाग्न खोजेका थिए । पेस्तोल बोकेर हिँडेका उनीहरू पक्राउ पर्ने डरले भाग्न खोजेका थिए । प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा जयबहादुर रोकायको कम्मरमा पाँचवटा गोली लोड गरिएको पेस्तोल बरामद भएको थियो । उनीसहित सुमन तामाङ, प्रेमप्रकाश बुढामगर र गन्जबहादुर मगर पक्राउ परेका छन् ।